कोरोना संक्रमितकाे परीक्षण र उपचारकाे पूर्ण जिम्मेवारी लिन सरकारलाई कांग्रेसको आग्रह

नेपाली कांग्रेसद्वारा गठित ‘कोभिड-१९ अनुगमन समिति’ ले सरकारलाई कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन आग्रह गरेको छ।

समितिका संयोजक एवं कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले बिहीबार प्रेस नोट जारी गर्दै उक्त आग्रह गरेका हुन्।

उनले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत तथा कांग्रेस पार्टी र नागरिक समाजबाट भएको निरन्तर विरोधका बाबजुद सरकार संक्रमितको निःशुल्क उपचार गराउनुपर्ने जिम्मेवारीबाट पन्छिदै गएको आरोप लगाएका छन्।

‘सत्ताधारी दलका नेता र उनका नाममा दर्ता भएका गैर सरकारी संघ–संस्थाहरुलाई अरबौँ रकम दिन सक्ने, विभिन्न शीर्षकमा फजुल खर्च गर्न समस्या नहुने, कोभिड-१९ संक्रमण रोक्ने नाममा ठूलो मात्रामा दुरुपयोग र भ्रष्टाचार गर्न सरकारसँग पर्याप्त बजेट हुने तर आम नागरिकहरुले परीक्षण र उपचार खर्च नभएर मृत्युवरण गर्नु पर्ने स्थितिमा बजेटको अभाव देखाउँदै सरकार केही गर्न नसक्ने भनेर जिम्मेवारीबाट पन्छिदैछ,’ प्रेस नोटमा उनले भनेका छन्।

सरकारी अस्पतालहरुले समेत उपचार पहिले नै निश्चित धरौटी रकम दाखिला गर्नुपर्ने सूचना जारी गरिरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा कतिपय बिरामीहरु खर्च जुटाउन नसकेर अस्पतालमा उपचार गराउँदा गराउँदै फिर्ता हुने गरेको र संक्रमणले गम्भीर हुँदासमेत कतिपयले घरमै बस्नुपर्ने बाध्यता भएको बताएका छन्।

उनले सरकार जिम्मेवारी बहन गर्नुबाट कर्तव्यच्यूत भएको यो चरम नमूना भएको बताए। ‘कोभिड-१९ संक्रमणले सिर्जना गरेको परिस्थितिका कारण दैनिकी चलाउन कठिनाई भोगिरहेका आम नागरिकहरुका लागि राहतको व्यवस्था गर्न पनि सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,’ प्रेस नोटमा भनिएको छ।

कोभिड-१९ रोकथाममा सरकारले देखाएको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न आम नागरिकहरुको तहबाट पनि जिम्मेवारी लिन जरुरी भएको उनले बताएका छन्। 

‘मास्क लगाउने, भौतिक दुरी कायम राख्ने र साबुन पानीले नियमित हात धुने उपायहरुलाई गम्भीरताका साथ लिन आग्रह गर्छु,’ उनले भनेका छन्।

कोभिड-१९ संक्रमणको विशिष्ट परिस्थितिमा बडा दसैँलाई आ–आफ्ना घरमा मात्र मनाएर संक्रमणको जोखिमलाई कम गर्नसमेत उनले सबैमा अपिल गरेका छन्।

प्रकाशित मिति: : 2020-10-22 15:49:00

प्रतिकृया दिनुहोस्