स्पेनमा एकै दिन कीर्तिमानी कोरोना संक्रमित

स्पेनमा एकै दिनमा कीर्तिमानी कोरोना संक्रमित फेला परेका छन्। 

बिहीबार स्वास्थ्य मन्त्रालयले एउटा रिपोर्ट सार्वजनिक गर्दै २० हजार ९ सय ८६ संक्रमित एकै दिन फेला परेको बताएको छ। यो स्पेनको अहिलेसम्मकै खराब स्थिति हो। 

पहिले यो संख्या १७ हजार थियो। बुधबार मात्र कोरोनाको संख्या उच्च बिन्दुमा पुगेको स्वास्थ्य मन्त्रालयले बताएको थियो।

देशका प्रमुख सरुवा रोग निवारण संस्थाका चिकित्सक फार्नान्डो सिमोनले बिहीबार यसको जानकारी दिँदै भने, ‘कोरोना उच्च बिन्दुमा पुगेको छ। तर, युरोपका अन्य देशको तुलनामा त्यति तीब्र छैन। त्यसैले हामीलाई सावधानीपूर्वक काम गर्न पर्याप्त समय छ।’

स्पेनी स्वास्थ्य मन्त्री साल्भाडोर इलाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको हुनाले कफ्र्युलगायत अन्य थप प्रक्रिया अगाडि नबढाइएको बताए। स्पेनमा हाल ६ भन्दा बढी मानिसलाई सँगै बस्न प्रतिबन्ध लगाइएको छ। र ११ बजे रातीसम्म पसल बन्द गर्न भनिएको छ। 

बिहीबार मात्र अस्पतालमा ४ सय २२ जना भर्ना भएका थिए। हाल स्पेनको अस्पतालमा १४ हजार १ सय ६० कोरोना संक्रमितले उपचार गराइरहेका छन्।

बिहीबार १ सय ५५ जनाको निधन भएको थियो। हाल स्पेनमा ३४ हजार ५ सय २१ जनाको निधन भएको छ।

प्रकाशित मिति: : 2020-10-23 07:14:00

प्रतिकृया दिनुहोस्