यस वर्षको कहरे दसैं

(भुजङ्गप्रयात छन्द)

दसैंको छ बेला दशा देखिए छ
कठै यो जगत् आज अत्यासिएछ
कसोरी मनाउन् सबैमा डरै छ
कहाली कहर्को अझै झाङ्गिदै छ ।।१॥

सबैमा छ चिन्ता सबैमा छ शङ्का
सबैको मनैमा जलेको छ लङ्का
भनौं के म साथी जमाना छ यस्तो 
सबै तर्फ देखेँ म आतङ्क जस्तो ॥२॥

न केही छ धन्धा न कामै चलेका
कतै भोकभोकै बसेछन् गलेका
न आशा छ केही न केही व्यवस्था
न कोही सहारा छ यस्तो अवस्था ॥३॥

सबैले सबैको गरौं कामना यै
बिरामी सिकिस्तै नहोऊन् कतै क्वै
सदा दाहिना हून् कृपासिन्धु माता
दसैं लाभकारी बनोस् हे विधाता ॥४॥

विजेता भएका थिए राम एक
दसैं चाड हाम्रो त्यसैले छ नेक
मिटोस् त्रास जम्मै हटोस् रोगपीडा
दसैंमा रमाउन् गरून् खेल क्रीडा ॥५॥

विष्णु पन्थी
२४–१०–२०२०

प्रकाशित मिति: : 2020-10-25 18:01:00

प्रतिकृया दिनुहोस्