नेताहरूबीच हार्दिकता नभएकाे हाे, समस्या त पार्टीकाे काबुभित्रै छ

शिलापत्र

काठमाडौँ
तस्बिर : शिलापत्र

भागवत भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्‍वासपात्र मानिने नेता विष्णु पौडेल तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि पार्टी महासचिव भए । पार्टी एकताका बाँकी काम टुङ्ग्याउने खाका निर्माणको जिम्मेवारी पनि उनैले पाएका छन् । पार्टीमा ठूलो जिम्मेवारी पाएका पौडेलले भर्खरै अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

पार्टीमा आन्तरिक विवाद बढ्दै गएको छ भने कोभिड-१९ का कारण देशको अर्थतन्त्र कमजोर बनेको छ । यस हिसाबले उनका दुवै काम निकै चुनाैतीपूर्ण देखिन्छन् । प्रस्तुत छ, अर्थमन्त्री तथा नेकपा महासचिव पौडेलसँग भागवत भट्टराई ले गरेको कुराकानी :

दसैँ कस्तो रह्यो मन्त्रीज्यू ?

अत्यन्तै सामान्य रह्यो । कोभिड-१९ का कारण उत्पन्न परिस्थितिलाई ख्याल गर्दै परिवारका सदस्यहरूका बीच मात्रै दसैँ मनाइयो । 

दसै-तिहार पर्व र यो समयमा हाम्रो अर्थतन्त्रका हिसाबले पनि धेरै महत्त्वपूर्ण मानिन्छ । आर्थिक गतिविधि सुस्त हुँदा भविष्यमा पर्ने प्रभाव कसरी आकलन गर्नु भएको छ ?

स्वभाविक रूपमा दसैँ, तिहार, छठलगायतका चाडपर्वमा जुन प्रकारको आर्थिक क्रियाकलापमा बिस्तार हुने गर्थ्यो, यसपटक  त्यसको तुलनामा संकुचन त आएकै छ । कोभिडको कारणले यो संकुचनको स्थिति सिर्जना भएको हो । 

पहिलो पटक पनि नाकाबन्दी र भूकम्पका पीडाबीच अर्थमन्त्री बन्नु भएको थियो । अहिले पनि उस्तै चुनाैती छन् । याे परिस्थितिमा कति समानता, कति असमानता पाउनु भएको छ ? 

उस्तै अवस्था त छैन । त्यतिबेला पनि निकै चुनौतीपूर्ण अवस्था थियो । अहिले पनि चुनौतीपूर्ण नै छ । त्यतिबेलाको चुनाैतीको प्रकृति र अहिलेको चुनाैतीको प्रकृति फरक छ । त्यसबेला भूकम्पको मार र नाकाबन्दीको मारको कारण समस्या परेको थियो । ती असरहरूलाई सामना गर्दै अगाडि बढ्नुपर्ने अवस्था थियो । अहिले यो कोभिडको विश्वव्यापी महामारीको प्रकोपमा हामी छौँ ।

मुलुकमा त्यसको प्रभाव आर्थिक सामाजिक रूपमा साथै जीवनका हर क्षेत्रमा परेको छ । चुनाैती उस्तै नरहे पनि त्यो समयमा पनि चुनाैतीका बीच म अर्थमन्त्री भएको थिएँ र अहिले पनि । यो चुनाैतीको शीरमा टेकर हामी अगाडि बढ्छौँ । 

प्रकाशित मिति: : 2020-10-29 20:01:00

प्रतिकृया दिनुहोस्