आन्तरिक पर्यटकलाई लक्षित गर्दै हेलिकप्टर कम्पनीहरूको टूर प्याकेज, १९ हजारमै गोसाइँकुण्ड

हिमाल खबर

काठमाडौँ
फाइल तस्बिर

राजु बास्कोटा 
केही वर्ष अगाडिसम्म विदेशी पर्यटक र उच्च वर्गका व्यक्तिले मात्रै चढ्ने विलासिताको साधन मानिन्थ्यो हेलिकप्टर। सर्वसाधारणका लागि स्वास्थ्य उपचार लगायत आपतकालीन र आकस्मिक प्रयोजनमा मात्र हेलिकप्टरको प्रयोग हुँदै आएको छ। तर, पछिल्लो समय सर्वसाधारण नेपालीको पहुँचमा पनि हेलिकप्टर पर्न थालेको छ। 

यही बढ्दो पहुँच देखेर निजी क्षेत्रका हेलिकप्टर सेवा प्रदायकले सर्वसाधारण यात्रुलाई आकर्षित गर्न प्याकेज ल्याउन थालेका छन्। हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज शर्मा कँडेल हेलिकप्टर सेवा प्रदायकले आकस्मिक प्रयोजनमा मात्रै नभई मनोरञ्जनको साधनको रूपमा हेलिकप्टर प्रयोग गर्न सक्ने बनाउँदै लगेको बताउँछन्। उनी भन्छन्, “नेपाली ग्राहकलाई समय अनुसार सेवा दिन हेलिकप्टरले आकर्षक प्याकेज बनाएका हुन्।”

कोरोनाभाइरस संक्रमण महामारीका कारण ठप्प भएको पर्यटन क्षेत्र बल्ल उठ्ने सुरसारमा छ। कोरोना जोखिम रोकथामका लागि बन्द गरिएको हवाई क्षेत्र ६ महीनापछि खुला भए पनि पर्यटक आगमन ठप्प भएको र आन्तरिक गतिविधि पनि चलायमान नहुँदा हेलिकप्टर व्यवसाय अझै तंग्रिन सकेको छैन।

हेलिकप्टर सोसाइटी अफ नेपालको तथ्यांक अनुसार, नेपालमा १० वटा कम्पनीका ३४ वटा हेलिकप्टर छन्। त्यसमध्ये १२ वटा मात्रै उडानमा छन् भने बाँकी २२ वटा हेलिकप्टर काम नपाएर थन्किएको सोसाइटीका महासचिव तथा हेलि एभरेष्टका सीईओ कँडेल बताउँछन्। व्यावसायिक रुपमा टिक्न  यीमध्ये अधिकांश कम्पनीले हेलि टूर प्याकेज शुरु गरेको उनको भनाइ छ।
 

प्रकाशित मिति: : 2020-10-30 08:04:00

प्रतिकृया दिनुहोस्