‘विज्ञापन बजार बढ्ला तर उपभोक्ताले टेलिभिजन हेर्न महँगो शुल्क तिर्नुपर्छ’

बाह्रखरी

काठमाडौँ
सांकेतिक तस्बिर

 हिमाल पौडेल

नेपालमा कात्तिक ८ देखि क्लिनफिड (विज्ञापनरहित) लागु भयो । कात्तिक ८ देखि विदेशी च्यानलहरु विज्ञापनरहित प्रसारण भएका छन् । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को व्यवस्था अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण नहुने व्यवस्था लागु भएको हो । यो व्यवस्थासँगै नेपाली विज्ञापन बजार दोब्बरले बढ्ने विज्ञापन व्यवसायीहरुले दाबी गर्दै आएका छन् । यस्तै विज्ञापन बजारको दायरा फराकिलो हुने भएसँगै रोजगारी र सरकारको पनि राजस्व बढ्ने उनीहरुको भनाइ छ । 

यता, टेलिभिजन सेवा प्रदायकहरु भने क्लिनफिडले विज्ञापन बजार बढ्ला वा नबढ्ला तर टेलिभिजन हेर्ने उपभोक्ताका लागि भने शुल्क बढ्ने निश्‍चित रहेको बताउँछन् । डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य हाल उपभोक्ताले तिरिरहेको शुल्कमा २५ प्रतिशतसम्म शुल्क बढ्न सक्ने बताउँछन् । “पहिला त्यही च्यानलहरुले विज्ञापन पनि प्रसारण गर्थे, अब गर्न पाउँदैनन् । त्यसरी कन्टेन्ट मात्रै दिँदा उनीहरुको लागत पनि बढ्छ । त्यो बढेको लागत हाम्रा उपभोक्तामाथि पर्छ,” उनले भने । यद्यपि टेलिभिजन हेरिरहेका ग्राहकलाई बढी शूल्क नलाग्‍ने बनाउन आफूहरुले प्रयास गरिरहेको पनि उनले बताए । 

क्लिनफिड लागु  हुनुअघि जति पनि विदेशी च्यानल नेपालमा प्रसारण हुन्थे, उनीहरुले टेलिभिजन कार्यक्रमसहित विदेशी विज्ञापन पनि प्रसारण गर्थे । सोही विज्ञापनबाट संकलन हुने रकमका कारण उनीहरुको लागत बढेको थिएन, तर अब उनीहरुको लागत पनि बढ्ने र त्यसको पूर्ति उपभोक्ताबाटै गर्न सक्ने आचार्य बताउँछन् । क्लिनफिड लागु हुनुभन्दा अगाडि धेरै च्यानलहरु निःशुल्क पनि हेर्न पाइन्थ्यो तर अब ती च्यानल हेर्न पनि शुल्क तिर्नुपर्ने हुनसक्ने उनले बताए । अब आस्थालगायत च्यानल पनि पे च्यानलमा जान सक्ने उनी बताउँछन् । "पहिला विज्ञापन प्रसारण गर्न पाउने हुँदा शुल्क लिँदैनथे अब त हाम्रो च्यानल देखाउने हो भने शुल्क लाग्छ भन्‍न सक्छन्," उनले भने । त्यसको सीधा असर उपभोक्तालाई नै पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: : 2020-10-30 10:25:00

प्रतिकृया दिनुहोस्