रासायनिक मलमा सरकारले पनि झुक्यायो, बंगलादेशसँग पैचो मागिएको मलको अझै सम्झौता भएन

नेपाल लाइभ

काठमाडौँ
फाइल तस्बिर

हेमन्त जोशी

 रासायनिक मल बिनै बर्षेबाली लगाएका किसानले हिउँदे बालीका लागि पनि मल नपाउने भएका छन्। ठेक्का सम्झौताअनुसार निजी क्षेत्रबाट समयमा मल आउन नसकेपछि आफैं मल ल्याउन लागिपरेको सरकारले पनि हिउँदेबालीका लागि मल ल्याउन नसक्ने देखिएको हो।

दुईवटा ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले युरिया मलका २ वटा ठेक्का अलपत्र पारेपछि किसानलाई हिउँदेबाली लगाउँदा जुनसुकै हालतमा मल उपलब्ध गराउन भन्दै सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल सापट माग्ने निर्णय गरेको थियो। गत भदौ १५ गते सरकारले बंगलादेशसँग सो परिमाणको मल सापट माग्ने निर्णय गरेको थियो। तर २ महिना बितिसक्दा पनि दुई देशबीच सम्झौता हुन सकेको छैन।

सापटमा मल ल्याउने भनेर कृषि सामग्री कम्पनी लिमिटेडमार्फत ढुवानीका लागि ठेक्कापट्टा भइसकेको छ। एलसीसमेत खोलिसकेको छ। तर दुई देशबीच मल सापट लिने–दिने सम्झौता भने हुन बाँकी देखिएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा हरि बहादुर केसीका अनुसार दुई देशबीच सम्झौता गर्ने काम अझै प्रक्रियामै रहेको छ। ‘बंगलादेश पक्षबाटै केही ढिलो हुन पुग्यो। सम्झौता हुन बाँकी छ, हामी प्रक्रियामै छौं’, प्रवक्ता केसीले भने, ‘एमओयुमा हस्ताक्षर गर्नका लागि बंगलादेशले एउटा मस्यौदा पठाएको थियो। हामीले त्यसमा केही संशोधन गरेर पठायौं। उनीहरुले फेरि त्यसमा केही संशोधन गरेर पठाएको छ। अब हामी अर्थ र कानुन मन्त्रालयको सहमति लिएर त्यसलाई पठाउने क्रममा छौं।’

प्रकाशित मिति: : 2020-10-30 16:31:00

प्रतिकृया दिनुहोस्