प्रचण्डकाे निर्देशनपछि मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीबाट पछि हटे मुख्यमन्त्री शाही

कर्णाली प्रदेशको मन्त्रिपरिषद्  पुनर्गठन तत्काललाई नहुने भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेको चर्चा थियो।

तर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीपछि हटेको स्रोतले जनाएको छ।

उनले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित नेकपा अध्यक्ष केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिनुपर्ने आसयमा छलफल गरेको सामाजिक विकास मन्त्री दल रावलले बताए।

तर, आफू निकट दुई मन्त्रीलाई राजीनामा नदिन अध्यक्ष ओलीले निर्देशन दिएको बुझिएको छ।

यसैले ओली निकट मन्त्रीहरु दल रावल र नन्दसिंह बुढाले राजीनामा नदिने, बरु हटाए हट्ने अडान लिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी रोकिएको हो।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा उभिएका मन्त्रीहरु रावल र बुढालाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री शाही जुटेका थिए।

स्रोतका अनुसार नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम थियो।

यता कर्णाली प्रदेशमा अल्पमतमा परेका ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने जनाइएको थियो।

ओली पक्षबाटै मन्त्री बनेका खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने तयारी थियो। खत्रीविरुद्ध बैंकिङ कसुरको मुद्धा छ। 

मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि हटाएका थिए। 

प्रकाशित मिति: : 2020-11-01 14:17:00

प्रतिकृया दिनुहोस्