भाषाका कारण नेपाल–भारत सीमा सुरक्षामा समस्या

फाइल तस्वीर
फाइल तस्वीर

सरकारी कामकाजका लागि कुन भाषा प्रयोग गर्ने भन्नेमा अन्यौंलता बढेपछि प्रदेश–२ को नेपाल–भारत सीमा सुरक्षामा समस्या देखिन थालेको छ। 

सीमामा तैनाथ नेपाली सुरक्षाकर्मी र दैनिक कामकाजका लागि नेपाल–भारत सीमामा ओहोर–दोहोर गर्ने नागरिकबीच बोल्ने भाषालाई लिएर सुरक्षामा समस्या देखिएको हो। 

सिरहाको दक्षिणी भेगमा नेपाल–भारत सीमासुरक्षाका लागि सशस्त्र प्रहरीका ७ वटा विओपी स्थापना गरिएको छ। तर, अधिकांश विओपीमा तैनाथ सशस्त्र प्रहरी र मैथिली भाषी स्थानीयबीच एकअर्काको भाषा नबुझ्दा ड्यूटीमा समस्या पर्ने गरेको सशस्त्र प्रहरी बलका एक अधिकारीले बिएल नेपाली सेवालाई बताए। 

सशस्त्र प्रहरीमा मात्र होइन, सीमा क्षेत्रमा तैनाथ जनपद प्रहरीले पनि भाषाका कारण सीमामा गरिने चेकजाँचमा समस्या पर्ने गरेको बताएका छन्। प्रदेश दुईको सीमा क्षेत्रका अधिकांश वासिन्दाले मैथिली, भोजपुरी, अवधीलगायतका भाषा बोल्ने गरेका छन्। 

यस प्रदेशमा अधिकांश सीमावासी नेपालीको हाटबजार, किनमेल र औषधि उपचार अनि रोजगारीका लागिसमेत दैनिकजसो भारत जानुपर्ने विवशता छ। सशस्त्र प्रहरी सिरहाका एसपी दीपेन्द्र गिरी भन्छन्, ‘पहाड क्षेत्रबाट सरुवा भएर आएका जवानमा भाषाको समस्या देखिए पनि रहँदाबस्दा सिकिने भएकाले खासै ठूलो समस्या छैन।’ 

तर सीमावासी नेपाली नागरिक चेकजाँचमा खटिदा स्थानीय भाषा नबुझ्ने सुरक्षाकर्मीले दोभाषे परिचालन गर्नुपर्ने बताउँछन्। भारतको मधुवनी जिल्लासँग जोडिएको सिरहाको नवराजपुर गाउँपालिका निवासी जनता समाजवादी पार्टीका नेता शिवकुमार यादव उर्फ शिवा भन्छन्, सीमाक्षेत्रमा चेकजाँच गर्दा सुरक्षाकर्मीले दोभाषे प्रयोग गर्न जरुरी छ। 

यता एसपी गिरीले सशस्त्र प्रहरीबलमा सिरहामा मात्रै मधेशी समुदायका ६० प्रतिशत जवान कार्यरत रहेको बताउँदै भने, ‘दोभाषेको खासै जरुरी छैन।’ 

सशस्त्र प्रहरीले सीमा सुरक्षा सम्हाल्न थालेयता भारतीय पक्षले नेपाली भू–भागमा छिरेर गर्ने आपराधिक गतिविधि र लुटपाट शून्यमा झरेको छ।

सीमामा तैनाथ भारतीय एसएसबीका जवानले गैरकानुनी रुपमा हतियारसहित नेपाल छिरेर ताण्डव मच्याउने गरेको घटना पनि सशस्त्र प्रहरीले सीमामा तैनाथी दिन थालेपछि रोकिएको छ। 

पर्याप्त छैनन् सीमाक्षेत्रमा सुरक्षाकर्मी 

सीमाक्षेत्रमा पर्याप्त सुरक्षाकर्मीको अभाव हुँदा सुरक्षा निगरानीमा सशस्त्र प्रहरीलाई कठिन पर्ने गरेको छ। सिरहाको सीमाक्षेत्रमा मात्रै सशस्त्र प्रहरीको ७ वटा विओपी रहेको छ। प्रत्येक विओपीमा ५० जनशक्ति हुनुपर्नेमा हाल २५ जनाको दरले जनशक्ति तैनाथ छन्। 

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि र चोरीपैठारी रोक्न सीमाक्षेत्रमा तत्काल पर्याप्त सुरक्षाकर्मी परिचालन गर्नुपर्ने आवश्यकता रहेको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले बिएल नेपाली सेवालाई बताए। 

नेपालमा माओवादी द्वन्द उत्कर्षमा पुगेका बेला गठन गरिएको सशस्त्र प्रहरी बललाई माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि सीमा सुरक्षामा खटाइएको थियो ।

प्रहरीको उठ्ती–पुठ्तीले ठाँडी आतंकित 

यसैबीच प्रहरी चौकी ठाँडीमा कार्यरत जनपद प्रहरीका जवान तीर्थ ओझाको उठ्ती–पुठ्तीले यो क्षेत्र आतंकित बनेको छ। 

ठाँडी सिरहाको दक्षिणबेल्ट नेपाल–भारत सीमामा पर्छ। सीमाक्षेत्रमा तैनाथ सशस्त्र प्रहरीका जवानले चेकजाँचपछि ठाँडी चौकी हुँदै नेपाल भित्रिने गरेकासँग प्रहरी चौकी अगाडि चेकजाँचको नाममा उठ्ती–पुठ्तीको धन्दा चलाउँदै आएको स्थानीयले बताएका छन्। 

चेकजाँचका नाममा सिंघम स्टाइलमा प्रस्तुत हुने गरेका जवान ओझाले बाटो हिँड्नेलाई तँ भनेर अपशब्द प्रयोग गर्दै असुली गर्ने गरेको स्थानीयको आरोप छ। 

भारतीय नम्बर प्लेटको मोटर साइकलसँग पनि रकम लिएर उनले नेपाल भित्रिन दिनेगरेको स्थानीय दावी गर्छन। लकडाउनयता भारतीय नम्बर प्लेटका सवारीसाधन नेपाल भित्रिन निषेध गरिएको छ। ट्राफिक प्रहरीको उपस्थितिमा मात्रै सवारीसाधन चेकजाँच गर्ने कानुनी व्यवस्था पनि जवान ओझाले ट्राफिक प्रहरीको उपस्थिति बिनै चेकजाँच गरेजस्तो गरेर उठ्ती–पुठती गरिरहेको स्थानीय बताउँछन्। 

भारतबाट जुवा खेलेर राती फर्किनेहरूसँग इलाका प्रहरी कार्यालयका इन्चार्ज डिएसपी शरद थापा क्षेत्री र एसपी उमाशंकर पञ्जियारसँग विशेष सम्बन्ध भएको भन्दै उनले हप्तामा पैसा उठाउने गरेको स्रोतको दावी छ। प्रहरी जवान ओझाविरूद्ध स्थानीयहरु आन्दोलनमा उत्रने तयारी गरिरहेको एक जनप्रतिनिधिले बताए।

प्रकाशित मिति: : 2020-11-05 19:04:00

प्रतिकृया दिनुहोस्