दागबत्तीले मनै पोल्यो

राजविराज : कात्तिकको चिसो बुधबारको मध्यरात निष्पट्ट अन्धकार छ। राजविराज–हनुमाननगर सडकखण्डमा रहेको खाँडो खोलाको किनारमा शीतले लपक्कै भिजेको जमिन छ। केही परिवारका सदस्य र नजिकका साथीहरूको उपस्थिति छ। खोला किनारमा खनेको खाल्डोमा शव राखिएको थियो। २ वर्षीय बालकले मसिनो स्वरमा ‘पापा..पापा’ भन्दै मुखाग्नि दिइरहेका थिए।

त्यो आगोको रापले भने मलामी गएकाहरूको मन पोलिरहेको थियो।कोभिड–१९ को कहरबीच नियमित फार्मेसी सञ्चालनमा खटिएका राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका फार्मेसी सहायक २८ वर्षीय राजन साफीले सधैँका लागि छाडेर गएपछि उनका दुई वर्षीय छोराले बुधबार राति पार्थिव शरीरमा दागबत्ती दिए। 

बालकले काका साजनको अँगालोमा बसेर लामो लाठीको एक छेउ समाती टुप्पोमा बालेको बत्तीले बुवालाई मुखाग्नि दिइरहेका थिए। त्यो दृश्यले राजविराजस्थित खाँडो खोलाको घाटमा बुधबार मध्यराति गएका मलामी सबैका आँखा रसाए।

थोरै संख्यामा पुगेका मलामी त्यतिबेला भक्कानिए जब अबोध बालकले पापा..पापा..भनेर खोजी गरे। त्यो दृश्य हेर्न नसकेर फुपू दिदी रेणुले अँगालो हालेर रोइन्। त्यसले झन् माहोल शोकाकुल बनायो। त्यहाँ उपस्थित सेना, प्रहरी र स्वास्थ्यकर्मीसमेत निकै भावुक देखिए। 

प्रकाशित मिति: : 2020-11-06 08:16:00

प्रतिकृया दिनुहोस्