ट्रम्पले रोजेको बाटो... एक्जिट बिनाको हाइवे !

अमेरिकी चुनावलाई महाभारत मान्ने हो भने यो महाभारत सकिएको छ। ह्वाइटहाउसलाई हस्तिनापुर मान्ने हो भने यो हस्तिनापुर फेरि पाण्डवको पक्षमा गएको छ। तर, अमेरिकी संस्करणका दुर्योधन ट्रम्प यो हार स्विकार्न तयार छैनन्। उनी रूडी जुलियानीजस्ता अमेरिकी सकुनीको उक्साहटमा विनासकाले विपरित वुद्धिको बाटोमा लागेका छन्। 
अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि ट्रम्पका लागि एउटै बाटो थियो, हार स्विकार गर्नु र सद्भावपूर्ण बहिर्गमन गर्नु। यसो गर्दा उनको चार वर्षे कार्यकालको सुखद विदाइ त हुन्थ्यो नै, सकसपूर्ण कार्यकाल पनि विस्मृतिमा जान्थ्यो। यो नै अमेरिकाको स्थापित परम्परा पनि थियो।

तर, दुर्भाग्य उनले त्यो बाटो रोजेनन्। उनले आफ्नो हार मात्र स्विकार गरेनन्, आफैं राष्ट्रपति भएर गराएको चुनावलाई जालझेलको संज्ञा पनि दिए। उनले आफ्नो जीत लुटिएको, चोरिएको समेत भन्न भ्याए। उनको यो भनाइलाई धेरैले हारको बर्बहाटका रूपमा व्याख्या गरे। कतिपयले यसबाट अमेरिकी प्रजातनत्र र चुनावकै खिल्ली उडेको पनि बताए। यसो भन्नेमा डेमोक्रेट्स त थिए नै, रिपब्लिकन पनि थिए। यसो नभन्नेमा ट्रम्पलाई देवकत्वकरण गर्ने ट्रम्पकन मात्र थिए।

ट्रम्पले यतिबेला ह्वाइट हाउसलाई अमेरिकी राष्ट्रपति कार्यालय र निवासभन्दा पनि एक स्थापित झगडियाको घर बनाएका छन्। उनी आफ्ना वकिलहरू जम्मा गरेर आफू पराजित भएका ब्याटल ग्राउण्ड राज्यमा मुद्दा हाल्न लागिपरेका छन्। केही हालिएका मुद्दा बदर पनि भैसके तर उनले त्यसबाट पाठ सिकेका छैनन्। उनले मुद्दा एरिजोना, नभाडा, जर्जिया र पेन्सेल्भेनियामा हाले पनि उनले चोटिको जोड पेन्सेल्भेनियामै लगाएका छन्। उनलाई थाहा छ, यहाँको २० इलेक्ट्रोल कलेज मत बिना उनको हार टर्न सक्दैन।

केही समयको कुरा हो, ट्रम्पको बहिर्गमन अब कसैले रोक्न सक्दैन। किनकि, उनले चुनावमा जे जसरी धाँधली भएको भनिरहेका छन्,  यो अमेरिकी चुनावी प्रक्रियामाथिकै प्रश्न भएकाले अमेरिकी अदालतले त्यस्तो प्रश्न उठ्नेगरी फैसला गर्ला भन्ने अपेक्षा गर्नु बढी नै हुन्छ। संघीय स्वरूपको अमेरिकामा चुनाव काउन्टी र राज्यका अदालतको कार्यक्षेत्रमा पनि पर्छ। त्यसैले यो आफैंमा जटिल छ। त्यसमाथि पनि अमेरिकामा चुनावी प्रक्रिया ट्रम्पले भनेजस्तो सजिलै धाँधली हुनेखालको कच्चा पनि छैन। 

अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि ट्रम्पका लागि एउटै बाटो थियो, हार स्विकार गर्नु र सद्भावपूर्ण बहिर्गमन गर्नु। यसो गर्दा उनको चार वर्षे कार्यकालको सुखद विदाइ त हुन्थ्यो नै, सकसपूर्ण कार्यकाल पनि विस्मृतिमा जान्थ्यो। तर, उनले त्यो बाटो नरोजेर अदालतको क्रिया गरिरहेका छन्, त्यसको प्रतिक्रियाले प्रकारान्तरमा उनलाई जेलको बाटो नदेखाउला भन्न सकिन्न। 

अहिले ट्रम्प परिवारकै सदस्य पनि दुई पक्षमा बाँडिएका छन्। प्रथम महिला मलानिया र ज्वाई केशनर हार स्विकार्नुपर्ने पक्षमा देखिएका छन्। उनीहरूलाई लागेको छ,  ट्रम्पको यो क्रियाबाट डेमोक्रेटस् थप चिढिनेछन् र उनीहरूले गर्ने प्रतिक्रियाले ट्रम्पको निवृत जीवन थप कष्टकर हुन्छ। यसै पनि उनीविरूद्ध दर्जनौ संगीन मुद्दा चलिरहेका छन् र ती मुद्दामा पराजित हुँदा कुनै पनि बेला उनी जेल पुग्न सक्छन्।

 उता, दुई छोरा र बहुारीहरू भने त्यो यथार्थलाई बेवास्ता गर्दै ट्रम्पलाई युद्धका लागि उक्साइरहेका छन्। उनीहरू कुनै पनि हालतमा हार स्वीकार्न नहुने दबाब दिइरहेका छन्। 

यही हालत ट्रम्पका सल्लाहकार र अनुयायीहरूको पनि छ। केही सल्लाहकार र अनुयायी आफूलाई भविष्यमा थप नोक्सान हुने गरी कदम नचाल्न बताइरहेका छन् भने केही चाँहि ट्रम्पलाई थप उक्साइरहेका छन्। 

 ट्रम्पको जिद्दी बुझेकाहरू भने बिचको कुरा गरिरहेका छन्। उनीहरू अदालत जाने र विपक्षमा निर्णय आए हार स्विकार गरेर शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने बताइरहेका छन्। यसो भन्दा त्यस्तो अवस्थामा अरू विकल्प नहुने भन्ने कुरा उनीहरूले बिर्सेका छन। र, त्यो धेरै ढिलो हुने यथार्थ पनि हेक्कामा राखिरहेका छैनन्।

यो पंक्तिकार यस पटकको चुनाव ट्रम्पको पक्षमा र विपक्षमा मात्र भएको ठान्दछ। सुरूदेखि नै म एउटै कुरा भनिरहेको छु, यसपटक ट्रम्प आफ्नै गलत प्रवृतिसँग हार्ने हुन् र त्यसो गर्दा बाइडन जित्ने हुन्। कतिपय मानिसहरू सुरूदेखि नै भनिरहेका थिए, बाइडनले जित्दा के हुन्छ ? मैले भन्ने गरेको थिएँ, बाइडनले जित्दा केही फरक नपर्ला तर ट्रम्पले हार्दा धेरै फरक पर्छ। ट्रम्पलाई अरू चार वर्ष अमेरिकाले थेग्नै नसक्ने अवस्था सिर्जना भैसकेको थियो। 

अमेरिकाको यसपटकको म्यान्डेट मात्र ट्रम्प र ट्रम्प प्रवृतिको पराजय हो। उनले कलेज इलेक्ट्रल मतको प्राविधिक बहुमतको आधारमा चार वर्ष अल्पमतको सरकार चलाए। यसपटक कलेज इलेक्ट्रल मतको मात्र हैन, अमेरिकाले भारी बहुमतको सरकार पनि पाएको छ।

यतिबेला ट्रम्प एक्जिट बिनाको हाइ वेमा पसेका छन्। यसको सुखद परिणाम ढिलो चाँडो इन्धन सकिएर गाडी रोकिनु हो भने दु:खद् परिणामचाँहि दुर्घटना नै हो। त्यो दुर्घटनामा के हुन्छ? अहिलेलाई यसै भन्न सकिने अवस्था छैन। तर, उनले जुन क्रिया गरिरहेका छन्, त्यसको प्रतिक्रियाले प्रकारान्तरमा उनलाई जेलको बाटो नदेखाउला भन्न सकिन्न।

प्रकाशित मिति: : 2020-11-09 01:47:00

प्रतिकृया दिनुहोस्