निर्माण सामाग्रीमा एकपछि अर्को मूल्यवृद्धि

रातोपाटी

काठमाडाै‌

काठमाडौं । निर्माण सामाग्रीमा एकपछि अर्को गर्दै मूल्य बढ्न थालेको छ । इँटा, गिटी र बालुवाको मूल्य वृद्धिपछि सिमेन्ट, डन्डी र पाइपको मूल्य बढाउने तयारी सुरु भएको छ । व्यवसायीहरुका अनुसार तिहारपछि अब धेरैजसो सामानको मूल्य लकडाउन अघिको अवस्थामा पुग्नेछ र केही सामानको मूल्य भने त्योभन्दा माथिसम्म पुग्नसक्छ । 

कोरोनाभाइरसको प्रभाव सुरु हुनुअघि अघिल्लो वर्ष माघमा उद्योगीहरुले निर्माण सामाग्रीको मूल्य बढाएका थिए । त्योबला सिमेन्टमा ५० रुपैयाँसम्म र डन्डीमा प्रतिकेजी ७/८ रुपैयाँसम्म मूल्य बढेको पाइएको थियो । त्यतिबेला मूल्य प्रतिस्पर्धाका कारण सिमेन्ट उत्पादनका लागि प्रयोग हुने क्लिंकरको मूल्य घटेको थियो । उता अन्तराष्ट्रिय फलामको मूल्य समेत केही घटेको थियो । बजारमा कच्चा पदार्थको मूल्य घट्दा पनि मूल्य बढाइएको भन्दै त्यतिबेला यो निर्णयको आलोचना भयो । वाणिज्य विभागले उद्योगीहरुलाई मूल्य वृद्धिबारे प्रष्टिकरण समेत सोधेको थियो । 

तर, त्यसलगत्तै कारोनाभाइरसको महामारी सुरु भएपछि त्यो प्रसंग यत्तिकै सेलाएको थियो । लकडाउन सुरु भएको केही समयसम्म निजी र सार्वजनिक निर्माण ठप्प हुँदा बजारमा माग निकै कम भयो । त्यही बीचमा उद्योगीहरुले बढेको मूल्य समायोजन गरे । उनीहरुले बढेको मूल्य घटाउने काम मात्रै गरेनन्,  बजारमा आफ्नो उपस्थिति देखाउनकै त्योभन्दा कम मूल्य राखेर आफ्ना उत्पादनहरु बिक्री गर्न थाले । त्यतिबेला उद्योगीबीच एक प्रकारको प्राइस–वार नै चलेको थियो । अब भने उचित नाफासहित व्यवसायिक ढंगले मूल्य निर्धारणको पक्षमा आफूहरु रहेको एक उद्योगीले बताए । 

प्रकाशित मिति: : 2020-11-09 10:48:00

प्रतिकृया दिनुहोस्