नेपालमा थप ६ काेराेना संक्रमितकाे मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
फाइल तस्वीर

नेपालमा गएकाे २४ घण्टामा थप ६ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। 

झापाको बिर्तामोडमा दुई, कैलाली दुई, बुटवल र रुपन्देही एक एक जनाकाे मृत्यु भएकाे हाे।   

बिर्तामोड नगरपालिका ४ मा ९२ वर्षीय वृद्धको सोमबार बिहान ४ बजे मृत्यु भएको हो। उनी बिर्तामोड ४ स्थित छोराको घरमा बस्दै आएका थिए।

एक साताअघि ती वृद्धको घरमै स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो। 

यता बिर्तामोडकै बिएण्डसी अस्पतालमा तेह्रथुम जिल्लाका ५८ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ। उनको राति ९ः१५ बजे उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

यता कैलालीको धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो।

उनको सेतीको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। 

उनमा कडा खालको निमोनियाको समस्या देखिएको थियो। कार्तिक २१ कोरोना पोजिटिभ देखिएको उनलाई त्यसै दिन नै अस्पताल भर्ना गरिएको थियो।

यस्तै टीकापुर नगरपालिका १ का ९० वर्षीय पुरुषको पनि सोमबार बिहान मृत्यु भएको छ। २० गते कोरोना पुष्टि भएका टीकापुरका पुरुष होम आइसोलेसनमा बसिरहेका थिए। 

धनगढीका ८४ वर्षीय पुरुषमा भने कडा प्रकारको निमोनिया देखिएको थियो। 

यता बुटवल उपमहानगरपालिका १७ निवासी ४५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान ६ बजे लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि शनिबार अस्पताल भर्ना भएका उनलाई शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो।

मृतक कलेजो र मिर्गौला रोगबाट पीडित थिए।

सोमबार बिहानै रुपन्देहीको सैनामैनाकी एक ५६ वर्षीया कोरोना संक्रमित महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको थियो।

कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला १९ गते भीम अस्पतालमा भर्ना भएकी थिइन्।

उनको सघन उपचार कक्षमा उपचारका क्रममा सोमबार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा नारायण पोखरेलले जानकारी दिए।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८६ र लुम्बिनी प्रदेशमा २०५ पुगेको छ।

प्रकाशित मिति: : 2020-11-09 12:34:00

प्रतिकृया दिनुहोस्