न्यायपालिकाको गिर्दाे साख : बनाउने भन्दा बिगार्नेमा होड ?

रातोपाटी

काठमाडौं

०६५ जेठ १५ गते औपचारिक रुपमा गणतन्त्रको घोषणा गरिए यता सर्वोच्च न्यायालयले १३ जना प्रधान न्यायाधीशहरु भोगिसकेको छ । ती १३ जना प्रधान न्यायाधीशले उत्तिकै उत्कृष्ठ कार्य सम्पादन गरे त ? अहम् सवाल हो यो । किनभने ती सबैले न्यायालयको साख उचो राख्ने काम गरिदिएका भए यसबेला न्यायको मर्म बुझेका अगुवा कानुन व्यवसायीहरु आन्दोलनको मोर्चामा पक्कै आउने थिएनन ।

गणतन्त्रकालका १३ जना प्रधान न्यायाधीशमध्ये कतिपयले स्वार्थ बाझिएका फैसला गर्ने देखि ‘सेटिङ’ मा पेसी तोक्नेसम्मका काम गरेका न्यायका मर्मज्ञहरु बताउँछन् । प्रधान न्यायाधीश भएपछि खास चाहना नै मुद्दाको पेसी तोक्नेमा देखाउने गरेका भुक्तभोगीहरुको भनाइ छ । कतिसम्म भने कतिपय प्रधान न्यायाधीशले त आफ्नो अवकाशपछिको योजनामा न्यायालयलाई हिँडाउने प्रयत्न गरेका छन् । जसले गर्दा आलोच्य फैसला भएर न्यायालयप्रति जनताको विश्वासबाट कट्दै गएको छ ।

गणतन्त्रका प्रधान न्यायाधीशमध्ये न्यायालयको छवी उच्च राख्नेमा कसको नाम अगुवामा आउँछ ? रातोपाटीले सर्वोच्च अदालतका पूर्व न्यायाधीशद्वय प्रकाश वस्ती, बलराम केसी, पूर्व रजिष्टार डा. रामकृष्ण तिमल्सेना, नेपाल बार एसोसियसनका पुर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरीहर दाहाल, नेपाल बार एसोसियसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा, नेपाल बार एसोसियसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष बोर्णबहादुर कार्की, वरिष्ठ अधिवक्ता हरीप्रसाद उप्रेतीसँग जिज्ञासा राखेको थियो । वरिष्ठ अधिवक्ता शेरबहादुर केसी बाहेक सबैले समवेत स्वरमा दुई वटा नाम छुटाएका छैनन् । उनीहरु हुन्, मिनबहादुर रायमाझी र अनुपराज शर्मा ।

रोचक के भने वरिष्ठ अधिवक्ता केसीले ०४८ सालपछिका प्रधान न्यायाधीशहरुमा विश्वनाथ उपाध्याय बाहेक अरु सबैलाई सरदरको सूचीमा राखेका छन् । ‘कार्यपालिका, व्यवस्थापिका वा अरु सबैतिरको इच्छा, आकांक्षा आफ्ना समस्याहरु निरुपण गरिदिन न्यायालय सबैको भरोसा बनोस् भन्ने छ । तर, गणतन्त्र घोषणापछिको कुरा गर्दा न्यायालयले जसरी परिवर्तनको अनुभूति दिनुपर्ने हो, त्यसरी दिन सकेन । परम्परावादी नै भयो’, केसी भन्छन् ‘प्रधान न्यायाधीश हुनेहरुले आफूलाई सर्वोपरी ठान्ने तर पदमा पुगेपछि केही नगर्ने गरेका छन् । उनीहरुले एक–दुई वटा राम्रा फैसला गर्नुको अर्थ के छ र ?’ प्रधान न्यायाधीशहरुले स्वतन्त्रताको प्रयोग गरेर अघि बढन नसकेको केसीको भनाइ छ ।

प्रकाशित मिति: : 2020-11-10 10:59:00

प्रतिकृया दिनुहोस्