कसरी मत्थर भयो कांग्रेस विवाद?

नेपाल लाइभ

काठमाडाैं

काठमाडौ– संस्थापन पक्षका कतिपय पूर्वनिर्णय फिर्ता गराउन बाध्य पार्नलाई दबाब सिर्जना गर्ने उद्देश्यले संघर्ष गर्ने टुंगोमा पुगेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष अन्ततः पछि हटेको छ।

असोज १२ मा बुझाइएको १६ बुँदे विरोधपत्रमा न्यायपूर्ण र विधिसम्मत समाधान गर्न गम्भीरता र तदारुकता नदेखाए संघर्ष र विरोध कार्यक्रम गर्ने चेतावनी पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई दिएको थियो। पौडेल पक्षले उठाएका मागमा आंशिक समाधान निस्केसँगै उक्त समूह पछि हटेको छ।

विभाग गठन, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको कार्यकाल, अन्य दलबाट आएकाहरुलाई वितरित सदस्यता लगायतमा कांग्रेसभित्र विवाद चर्किएको थियो। एकतर्फी निर्णय अस्वीकार गर्ने निचोडमा पुगेको पौडेल पक्ष क्रियाशील सदस्यता विवाद टुंगाउने संस्थापन पक्षले वचन दिएसँगै पूर्व अडानबाट पछि हटेको छ। अन्य मुद्दालाई ‘उचाले’ पनि पौडेल पक्षले पूर्ववत अडान कायम राख्न सकेन।

गत पुसदेखि नै पौडेल समूहले विभाग गठनको विरुद्धमा आवाज उठाउँदै आएको थियो। सभापति देउवाले बढाएका विभाग र मनोनयनप्रति तीव्र आक्रोश व्यक्त गरेको पौडेल समूहले अन्तत ‘चिसै पानीले नुहाएको’ छ।

तर पौडेल पक्षीय नेता अर्जुनरसिंह केसी आफ्नो पक्ष पछि नहटेको दाबी गर्छन्। राष्ट्रिय परिस्थितिलाई मूल्यांकन गर्दै कांग्रेसबीच थप एकता महसुस गरी समाधान उन्मुख भएको उनले बताए।

विभागमा मनोनयनको क्रममा कतिपय सदस्य संस्थापनइतरका पनि परेकाले विभागको मुद्दालाई जोडदार रुपमा पौडेल पक्षले उठाउन नसकिएको बताइएको छ। विभाग भंग हुँदा आफ्नै समेत टाढिने भयले पौडेल पक्ष पछि हटेको बताइएको छ। थप विभाग गठन नगर्ने गरी सहमति बनेको छ। निर्णयको विरोधमा उत्रेको पौडेल पक्षले ‘कुत्सित मनसायले विभाग गठन भएको’ जनाउँदै आएको थियो।

प्रकाशित मिति: : 2020-11-10 17:07:00

प्रतिकृया दिनुहोस्