होस्टेलको रकम नतिरेको भन्दै एमबिबिएसका दलित विद्यार्थी परीक्षा फारम भर्नबाट रोकिए

होस्टेलको रकम एकमुष्ट बुझाउन नसकेपछि विशेष छात्रवृत्तिअन्तर्गत एमबिबिएस अध्ययनरत तीन दलित विद्यार्थीलाई कलेजले परीक्षा फारम भर्नबाट वञ्चित गरेको छ । 

वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अध्ययनरत सप्तरी छिन्नमस्ता गाउँपालिकाका दिनेशकुमार मरिक (डोम), जानकी मेडिकल कलेज जनकपुरमा अध्ययनरत सर्लाहीका निर्मल राम र पतञ्जली आयुर्वेद मेडिकल कलेजमा दोस्रो वर्षमा अध्ययनरत सञ्जीवकुमार राम परीक्षाको फारम भर्नबाट वञ्चित भएका छन् । 

धुलिखेलमा दोस्रो वर्षमा अध्ययनरत सञ्जीवकुमारको बिल चार लाख ७५ हजार पुगेको छ । ‘चार लाख ७५ हजारको बिल छ, पैसा नतिरेको कारण अहिलेसम्म मेरो रजिस्टे«ेसनसमेत भरिदिएको छैन । कति दिन कलेजले गेटबाट फर्काइदिएको छ,’ उनले भने ।

नेसनल मेडिकल कलेजमा अध्ययनरत दिनेशकुमारका बुबा युक्तिलालले ब्याजमा पैसा खोजेर मंगलबार छोराको परीक्षा फारम भर्न कलेजलाई अनुनयविनय गरे । तर, कलेजले पूर्ण भुक्तानी नगरेसम्म फार्म भर्न नदिने अडान कायमै राख्यो । यस विषयमा बुझ्न कलेजका निर्देशक बसरुद्दिन अन्सारीलाई फोन गर्दा उठाएनन् । 

त्यस्तै, जानकी मेडिकल कलेजमा अध्ययनरत निर्मल रामलाई पनि कलेजले होस्टेलको खर्च नतिरेको भन्दै परीक्षा फारम भर्न दिएको छैन । ‘मैले कलेज प्रशासनसँग होस्टेल खर्चपछि तिर्ने सर्तमा फारम भर्न दिन चार–चार घन्टा आग्रह गर्दासमेत दिइएन,’ उनले भने, ‘मैले प्रदेश २ का मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयमा गत फागुनमै निवेदन दिएको र त्यहाँबाट सहयोग पाए तत्काल कलेजको रकम तिर्ने प्रतिबद्धता गर्दासमेत कुनै सुनुवाइ भएन ।’

दुई वर्षअघि पनि नेसनल मेडिकल कलेजमा एमबिबिएस अध्ययनत सर्लाहीको ईश्वरपुर नगरपालिका– १ का रुकेश राम र उनका भाइ प्रमोद राम दोस्रो वर्षको परीक्षा दिनबाट वञ्चित भएका थिए । राम दाजुभाइ त्यसविरुद्ध शिक्षा मन्त्रालय पुगेका थिए । त्यहाँबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न भनियो । तर, प्रमुख जिल्ला अधिकारीले कलेजविरुद्ध उजुरी दर्ता गर्नै मानेनन् । 

त्यसपछि राम दाजुभाइले प्रदेश २ सरकारसँग गुहार मागे । उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभाअन्तर्गतको महिला, बालबालिका तथा सामाजिक न्याय समितिमा गत मंसिर ८ गते उजुरी पनि दिएका थिए ।

प्रदेश सरकारले गत १८ मंसिरमा राम दाजुभाइ र अर्का एकजना दिनेश मरिक डोम गरी तीनजनालाई तीन लाख ५० हजारका दरले रकम दिने निर्णय गरेको थियो । तर, राम दाजुभाइले कलेजलाई तिर्नुपर्ने २० लाख सात हजार ५० रुपैयाँ छ । त्यसैले अझै पनि यी दुई भाइको डक्टर बन्ने सपनामा ग्रहण लागेको छ । 

प्रकाशित मिति: : 2020-11-11 08:14:00

प्रतिकृया दिनुहोस्