कतारी दूतावासबाटै सिण्डिकेटको चलखेल, छनोटमा परेका म्यानपावरमाथि अनुसन्धान गरिँदै

शिलापत्र

काठमाडाैं

कतार वैदेशिक रोजगारीमा १७ ओटा म्यानपावर कम्पनीमार्फत मात्र कामदार पठाउने चलखेलमा नेपालमा रहेको कतारी राजदूतावास नै लागेको पाइएको छ ।

नेपालस्थित कतारी दुतावास र कतार भिसा सेन्टर (क्युभीसी) ले कतारको श्रम र रोजगार मन्त्रालयलाई १७ ओटा म्यानपावरमार्फत मात्र कामदार लिने मान्यता दिलाउन पहल र चलखेल गरिरहेको वैदेशिक रोजगार व्यवसायीको आरोप छ ।  

१७ ओटा म्यानपावरमार्फत मात्र कतार कामदार पठाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका केही उच्च कर्मचारीको पनि सहयोग र संग्लनता रहेको व्यवसायीको आरोप छ ।

कतार भिसा सेन्टरका अध्यक्ष तथा एसओएस म्यानपावरका सञ्चालक हेम गुरुङकै नेतृत्वमा म्यानपावरको नाम छनोट गरिएको र भिसा सेन्टरकै नेतृत्वमा १७ वटा म्यानपावरमार्फत मात्र कामदार पठाउनका कतारी दूतावासले सहयोग गरिरहेको आरोप व्यवसायीको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसँगै नेपालका लागि कतारी राजदूत राजदूत युसुफ बिन मोहम्मद अल हायल, कतारका लागि पूर्व राजदूत रमेश कोइरालाको समेत संलग्नता रहेको व्यवसायीले आरोप लगाइरहेका छन् । श्रम मन्त्री यादव भने यो विषयमा श्रम मन्त्रालयलाई आधिकारिक पत्र र जानकारी नभएको बताउँछन् ।  

१७ ओटा म्यानपावर कतार कामदार पठाउन छनोट भएको विषयमा श्रम मन्त्रालयले छानविन समिति नै गठन गरेको श्रममन्त्री रामेश्वर राय यादवले जानकारी दिए । आफूले श्रम मन्त्रालय सम्हालेसम्म वैदेशिक रोजगारीमा जाने कामदारमाथि सिण्डिकेट लाद्न नदिने मन्त्री यादवको दाबी छ । 

प्रकाशित मिति: : 2020-11-11 13:35:00

प्रतिकृया दिनुहोस्