एसइई उत्तीर्ण विद्यार्थीलक्षित टेलिकमको विशेष प्याकेज

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल टेलिकमले 'स्टुडेन्ट अफर प्याक' सार्वजनिक गरेको छ। एसइई उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी सिम कार्डसहितको प्याकेज ल्याइएको टेलिकमले जनाएको छ। 

यो अफर टेलिकमका देशभरका काउन्टरबाट निःशुल्क प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ। पहिले नै टेलिकमका सिमकार्ड बोक्ने विद्यार्थी पनि यो अफरमा सहभागी हुन सक्नेछन्। 

सिमकार्ड लिन एसइई परीक्षा प्रवेशपत्रको फोटोकपी, एउटा फोटो र अभिभावकको वा आफ्नो नागरिकताको फोटोकपी चाहिने टेलिकमले जनाएको छ। सिमकार्ड लिएपछि *१६००# डायल गरी अफर लिन सक्ने टेलिकमले जनाएको छ। 

नयाँ लिइएका सिमकार्ड एक्टिभ भएपश्चात् उनीहरुलाई स्टुडेन्ट रजिष्ट्रेसन प्याक योजनाअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र ५ वटा एसएमएस गर्न तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ। 

नयाँ सिममा ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ। यो बोनसबापत पाइएको सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ। हरेक पटक रिचार्ज गरेपश्चात् प्राप्त हुने सो सुविधा एक वर्ष अवधिसम्म उपयोग गर्न सकिनेछ।

कोरोना ले गर्दा उब्जिएको विषम परिस्थितिका कारण कम्पनीका कार्यालयमा उपस्थित हुन सहज नहुने भएकाले विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा विभिन्न प्याकहरु उपलब्ध गराउनेछ। यसका लागि पहिलेदेखि नै प्रयोग गरिरहेको कम्पनीको मोबाइलबाट*१६००# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ। त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्ट्रर गर्दछ। यसरी रजिष्ट्रर भएका सिमकार्डबाट विद्यार्थी रजिष्ट्रेसन प्याक सहजै प्राप्त गर्न सकिनेछ। 

एसईईका विद्यार्थीहरुका लागि कम्पनीले निःशुल्क प्रदान गरेका वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमका रुपमा रुपान्तरण गरिएका सिमकार्डमा मागबमोजिम स्वतः ई–शिक्षा प्याकेज समेत उपलब्ध गराउनेछ। यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएको छ।  

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएससहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन्। त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ। यी अफरसहितका सिम हाललाई तीन महिनासम्म उपलब्ध गराइनेछ।

प्रकाशित मिति: : 2020-08-18 15:53:00

प्रतिकृया दिनुहोस्