जाक्नाको मधेस यात्रा, घोडाबाट लडिगयाका 'मुख्य-भेडीगोठाला'

हिमाली पाटनको मौसमै बेग्लै । असारमा आएर मात्र तातो लाग्नु, असोजमै चीसो सिरेटो चल्नु यहाँको मौलिकता हो।

यही हावापानीमा जन्मी–हुर्की रमाएका हिमाली भेडा । तर, अत्यधिक चीसो सिरेटो सहन सक्दैनन्। हेर्दै बख्खु लगाएजस्ता देखिने सेता, काला बाख्लो रौँ गरेका  हुन्छ, यी भेडा । मधेशको चर्को गर्मीमा पनि टिक्न सक्दैनन्। त्यसैले यिनको यात्रा भोट–मधेस भइरहन्छ। 

बाबिरा मष्टोले ‘भोटकी चौँरी मधेस पुग्नेछन्, मधेसकी गौरी भोट पुग्नेछन्’ भनी गरेको जलवायु परिवर्तन बारेको भविष्यवाणीको असर बिस्तारै पर्दैछ। तथापि उँधोउभो (तलमाथि) गरिरहने भेडाका यात्रा रोकिजाने छैन।

जब हिमालमा पनि औलो लाग्न थाल्छ तब भेडा हिमाली लेकतिर उभो लाग्छन्। त्यसैगरी जब तराईमा ठण्डा सितलहर चल्छ तब भेडाहरु उँधोतिर अर्थात् मधेस झर्छन्।

हिमाल चढ्ने भेडाहरु पिठ्युँमा अन्नको भारी बोक्थे। पाटनको बुकी र जडिबुटी खाएर विष पचाएर ज्यान बनाउँदै तिब्बत पुग्थे। त्यहाँका भोटेहरुलाई अन्न दिएर जुम्लामा नहुने नुन, सुन लगायत सामग्री बोकेर बेंसी झर्थे। 

तिब्बतसम्म व्यापार गर्न जानेका लागि भेडाहरु यातायातका गतिला साधन थिए। त्यसैले जुम्लीहरु भेडालाई जाक्ना पनि भन्थे। जाक्ना अर्थात् जागेको नुन बोकेर हिँड्ने भेडा।

पिठ्युँभरि सामान बोकेर जाक्नासँगै हिँडेका जुम्लीहरु व्यापारी बने। व्यापार अपार भयो। जुम्ली समृद्ध भए। ११औँ शताब्दीमा सिंजा पुगेका खसहरुका महासामन्त नागराजलाई अन्त जान मन लागेन। सिंजा साम्राज्य खडा गरेर शासन सुरु गरे। 

सिंजा साम्राज्यको उदयदेखि पतनसम्म कहीँ कतै विपन्नताको अभिलेख भेटिँदैन। त्यतिबेलासम्म भेडाहरु जाक्ना नै थिए। उनीहरुकै कारण व्यापारको फैलावट बर्खा उभोतिर र हिउँद उँधोतिर भइरहेको थियो।

भेडा पाल्ने मान्छे सितिमिति भेडाको मासु खाँदैनथे। खाए पनि भुटेर खाँदैनथे। मासु भुटेर खाए भेडाको बथान भुटिन्छ भन्ने मान्यता थियो। त्यसैले भकभक उमालेको पानीमा मासु, मरमसला हालेर खाने गरिन्थ्यो। त्यसरी खाएको मासुको झोलले बर्खाभरि पानीमा रुझेर जीउमा पसेकोसित फालिने विश्वास रहिआएको थियो।

शायद्, त्यसै बेलादेखि चलेको हुनुपर्छ, ‘असोजे भेडाको झैल र कात्तिके चामलको भात।’ हिमाली क्षेत्रमा पाटनको बुकी विषमः लगायतका जडिबुटीले ज्यानलाई औषधिको खानी बनाएका भेडा दसैंमा भान्साको झोल बनेपछि कात्तिके चामल त उसै रुच्ने भयो।

हरेक घरपरिवारले सबै प्रकारका अन्नबाली लगाउँदै र पशुपक्षी पालन गर्दै आएको कर्णाली उत्पादनमा आत्मनिर्भर थियो। जुन उत्पादन गर्न सम्भव थिएन, त्यो वस्तु विनिमय गरेर पूर्ति गर्दै आएको बूढापाकाहरुले बताउने गरेका छन्। 

जुम्लामा नून हुँदैनथ्यो। भोटमा अन्न हुँदैनथ्यो। जुम्लीले अन्न दिन्थ्यो। भोटेले नुन दिन्थ्यो। वस्तु–विनिमयले नै जुम्लीको जिब्रो रसिलो बनाएको थियो, भोटेको पेट भरेको थियो। विनिमयका मध्यम थिए, उनै जाक्ना।

भोटसँग सम्बन्ध हुन्जेल भोट र मधेससँग सम्बन्ध सुरु भएपछि मधेसबाट समेत नून ल्याएर कर्णालीको जिब्रोलाई स्वाद चखाउने काममा जाक्ना अघि लागेका हुन्। 

त्यस बेला भेडा धेरै हुनेहरु धनीमानीमा गनिन्थे। उसबेलाका भेडी गुवाला तिरो तिरेर राज्यलाई सम्पन्न बनाउथे। त्यसैले भेडी गुवाला सम्पन्न भएको बेला जुम्ला राज्य पनि सम्पन्न थियो। 

भोट, मधेसको चक्र हाल तोडिएको छ। भेडाको बहु–उपायोगिता घटेको छ। आजभोलि भेडालाई भोट मधेस गर्नुपर्ने अनिवार्य बाध्यता छैन तर जुम्लीहरुको भान्सामा स्वादिलो भोजनको लागि भेडाको उपयोग हुने क्रम बढ्दो छ। भेडा पाल्ने र भेडा चराउनेहरु पहिलेको तुलनामा घटेका छन्।

यिनीहरु लेक र बेसी गरिरहन्छन् तर व्यापारीका ढुवानीका साधन बनेका छैनन्। यत्ति हो पाटन र खर्कहरुमा भेडाहरु चिसो छल्न बेँसी झरिरहेका छन्।
तातोपानी गाउँपालिका ७ सर्मीका स्थानीय कृष्ण खड्काले असारमा गर्मी छल्न पाटन उक्लिएका भेडाहरु अहिले धमाधम उँधो लागिरहेको बताए। ‘पाटनमा चिसो बढ्दै गएको छ। अब हिउँ पर्न सुरु हुन्छ,’ उनले भने, ‘चिसोमा भेडाबाख्रा राख्न गाह्रो हुन्छ, त्यसैले उँधो ल्याएका हौं।’

हिजो भोट पुग्नलाई उँभो लाग्ने भेडाहरु आजभोलि जिल्लाकै पानसय, माझखर्क, सुकदह, सुपाकुना, गाडखर्क, छिनालाग्ना, भुरिचुला लगायतका पाटनसम्मको मात्र यात्रा तय गर्छन्। 

अर्का भेडी–गोठाला सर्प रावलका अनुसार, भेडा मंसिरसम्म गाउँवरिपरि रहन्छन्। ‘हिजो मधेस पुग्ने भेडाहरु आजभोलि जुम्लाकै थल, ढकुल्या, फुलचाउल्या, नेटा, कालामुढा लगायतका ठाउँका गोठमा रहन्छन्।’

जाक्नाले सम्पन्न बनाएको जुम्लीलाई १८४६ सालपछि काठमाडौंको साशक वर्गले दबायो मात्र। त्यसपछि जुम्लीका सुविकाल अहिलेसम्म आएका छैनन्। 

हिजोआज जुम्ली भेडाहरु माथिल्लो वर्गका भान्साको स्वादिलो भोजन बन्न भुटिएका छन्। शासक वर्गले जनताको दिमाग भुटेर भेडा बनाएका छन्।

आजभोलि हरेक दिन जाक्नाले भारी बोकेर लाइन लागि हिँडे जसरी जुम्ली मधेस जाँदा छन्। मधेसबाट कोही भारतका दिल्ली, मुम्बई, मद्रास, गोरखपुर, खलिलावाद, पटना, हिमाञ्चल, उत्तराञ्चल, सिक्किम, दार्जीलिङ, अरुणाञ्चलका गल्ली र गल्छेडामा हिँङ, सिलाजित, लत्ताकपडा, गलैँचा, राडिपाखी आदि आफैँ बोकेर व्यापार गर्छन्।  

तर पनि जुम्लीका दिन आयाका नाई। नेता बनेका भेडी गोठालाहरु त्यसै बरालिएका छन्। होश गुमाएका छन्। अस्ति भर्खरै उभो लागेका मुख्य भेडी गोठाला घोडाबाट लडिगया।

प्रकाशित मिति: : 2020-11-12 14:40:00

प्रतिकृया दिनुहोस्