शेयरबजारमा दोहोरो अंकको वृद्धि जारी, ४ अर्ब ८२ करोडभन्दा बढीको कारोबार

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजारको वृद्धि साताको अन्तिम दिन बिहीबार पनि कायमै रह्यो । खरिदबिक्री रकम एकै दिन ४ अर्ब ८२ करोड भन्दा बढी पुगेको छ । 

खरिदबिक्री रकममा थप तेजी देखिएको छ । बिहीबार अघिल्लो दिनको भन्दा अझै बढी रकमको शेयर कारोबार भएको हो। 

नेप्से सूचक १७ सय अंकमाथि बुधबार उक्लिएकोमा सूचक दोहोरो अंकले वृद्धि भएर १७ सय विन्दुभन्दा माथि नै अडिएको छ । बजारले अब सजिलै पुरानो उच्चतम रेकर्ड १८८१ लाई क्रस गर्ने लगानीकर्ताहरुले विश्वास गरिरहेका छन् ।

यतिबेला शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त समय देखिएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता छ । ब्याजदर घटेको छ । बैंकहरुले बोलाई-बोलाई शेयर कर्जा दिइरहेका छन् । 

शेयर धितो राखेर ७०% सम्म कर्जा पाइन्छ । सर्वसाधारण लगानीकर्ता पनि निकै उत्साहित भइरहेका छन् ।

सरकार तथा नियामकले पनि सुधारका लागि कामहरु गरिरहेका छन् । यी सबै परिदृश्यहरुले शेयर बजारको आगामी गति सकारात्मक हुने देखिएको हो ।
 
नेप्से सूचक १०.८२ अंकले बढेर १७१८.५० विन्दुमा पुगेको छ । १९८ कम्पनीको ४ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कुल १२ समूहमध्ये ५ को सूचक हरियो भएको छ भने बाँकी समूह तल झरेका छन् । 

सबैभन्दा धेरै व्यापारिक समूहको सूचक १६४.७१ अंकलले वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक पनि १०.२१ विन्दूले माथि लागेको छ ।

विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीको भाउ सर्किट लाग्ने गरी बढेको छ । सबैभन्दा बढी गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले ५.२३% ले गुमाएका छन् । 
खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनीले अग्रता लिएको छ । 

यसको २८ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल टेलिकम र तेस्रोमा प्रभु बैंक परेको छ ।

प्रकाशित मिति: : 2020-11-12 15:56:00

प्रतिकृया दिनुहोस्