गणतन्त्रका लौह पुरुषहरू !

गोरखापत्र

काठमाडाै‌

कृष्णमुरारी भण्डारी
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक अन्तर्वार्तामा नेपाली राजनीतिको समस्याको चुरो पहिल्याउनुभएको छ । जसले सत्तासीन नेकपामात्र होइन, प्रमुख प्रतिपक्षी काँग्रेस र अन्य दलभित्र गिजोलिइरहेको राजनीतिलाई पनि पटाक्षेप गरेको छ । के कम्युनिस्ट, के काँग्रेस र के अन्य दललाई बहुदलीय व्यवस्था स्थापनापछि पिरोलिरहेको पिलो फोर्नुपर्ने र खिल निचोरेर राजनीतिक घाउ निको पार्नुपर्ने सत्य उजागर गर्नुभएको छ उहाँले ।
एक निजी क्षेत्रको टेलिभिजन कार्यक्रममा कुरा गर्दै मुख्यमन्त्री गुरुङले व्यक्त गर्नुभएको सूत्र हो– सरकार र पार्टीको सीमा कहाँ सुरु हुन्छ र कहाँ गएर सकिन्छ ? स्पष्ट हुनुपर्छ । पार्टी विधान र नेताहरूको आदेशअनुसार सरकार सञ्चालन गर्ने हो वा पार्टीले नै उम्मेदवार बनाएको र संसदीय दलको नेता चुनिएपछि प्रधानमन्त्री बनेको नेताले सरकारको गठन र सञ्चालन गर्ने हो ? यसको छिनोफानो हुुनुपर्छ । उहाँले उठाउनुभएको अर्को सवाल हो– देशको कार्यकारी प्रमुख भइसकेकाहरू पुनः कार्यकारी पदमा रहन नपाउने प्रावधान हुने हो भने तीन दशकदेखिको कचमच भइरहेको पिलो सदाका लागि समन हुनेछ ।
नेकपामा एक वर्षदेखि बल्झिरहेको विवादलाई यस सूत्रबाट हल गर्न खोज्ने हो भने सदनमा झन्डै दुईतिहाइ बहुमत रहेको गौरवशाली पार्टी पुनः स्थापनाकालको जोश, जाँगर र लयमा फर्किन सक्छ । नेकपामात्र होइन, काँग्रेस र अन्य दलहरू पनि यथार्थ धरातलमा अवतरण हुनेछन् अनि आफ्नो क्षेत्राधिकारमा रहेर अगाडि बढ्ने मार्गप्रशस्त हुनेछ । यसो भयो भने, देश र जनताका चुनौती र सम्भावनाबारे दत्तचित्त भएर इस्यु (विषय)मा अगाडि बढ्ने यात्राको शुभारम्भ हुनेछ किनभने त्यसपछि नीति–कार्यक्रम र योजनामा प्रतिस्पर्धा गर्ने युगको प्रारम्भ हुनेछ । जालझेल, व्यक्तिगत तथा पारिवारिक स्वार्थको किचकिचको युग समाप्त हुनेछ । जनताले पनि पार्टीका योजना र कार्यक्रमका आधारमा प्रतिनिधि चुन्नेछन् । 

प्रकाशित मिति: : 2020-11-13 08:27:00

प्रतिकृया दिनुहोस्