श्रीमानको शव अस्पतालमै छाडेर जब श्रीमती घरतिर लागिन्

अनलाइनखबर

काठमाडाैं

२८ कात्तिक, विराटनगर । सिरहा विष्णुपुर गाउँपालिका- २ का ३५ वर्षीय अरुणकुमार यादवको स्वास्थ्यमा समस्या देखिएपछि श्रीमती प्रेमशिला र छिमेकीले एम्बुलेन्समा राखेर विराटनगरको विराट नर्सिङहोम (विराटनगर अस्पताल) मा ल्याए ।

लक्षण कोरोनासँग मिल्दोजुल्दो थियो । पीसीआर परीक्षण गर्दा पोजेटिभ रेपोर्ट देखियो । अवस्था गम्भीर बनेपछि अस्पतालले आईसीयू हुँदै भेण्टिलेटरमा राख्यो ।

विपन्न परिवारका यादवको उपचारका लागि श्रीमतीले ऋण खोजेर अस्पतालमा एक लाख चार हजार रुपैयाँ जम्मा गरिन् । भेण्टिलेटरको बेडचार्ज दैनिक ५० हजार रुपैयाँ थियो ।

उपचारको बिलसँगै ल्याब र औषधि खर्च पनि बढ्दै गयो । तर, अवस्थामा सुधार आएन । भर्ना भएको ८ दिनपछि २५ कात्तिकमा अरुणको निधन भयो ।

अस्पतालले उपचारमा लागेको खर्च भनेर ४ लाख ७७ हजार ५ सयको बिल दियो । अस्पताललाई बुझाउने पैसा थिएन प्रेमशिलासँग ।

उनले अन्तिम संस्कारका लागि शव मागिन् । तर, अस्पतालले पैसा नतिरेसम्म शव दिन्न भन्यो । अस्पताललाई तिर्ने पैसा थिएन । अनेक अनुनय विनय गर्दा पनि अस्पताल प्रशासनले नसुनेपछि शव अस्पतालमै छाडेर उनी गाडी चढेर घर फर्किइन् ।

यादवको मृत्यु भएको चार दिन भइसक्यो । यो अवधिमा अन्त्येष्टिका लागि शव निकाल्न आफन्तले अनेक प्रयास गरे । तर, अस्पतालले सुनेन । आफन्त गुमाउनुको चोटसँगै शव अस्पतालमै बन्धक बनेको पीडाले यादव परिवार छटपटाइरहेको छ ।

‘साना छोरा-छोरी छन् । अस्पताललाई तिर्ने पैसा पनि छैन,’ छिमेकी रामपुरक यादवले भने, ‘मान्छे बाचेको भए उसले भोलि कमाएर तिर्थ्यो होला । आफन्तसँग जग्गा जमिन पनि छैन ।’

उनका अनुसार शव छाडेर आफन्त घर पुगेपछि गाउँका अगुवाहरु शव बुझ्न भन्दै अस्पताल आएका थिए । तर अस्पतालले पैसा नतिरेसम्म शव दिन्न भन्यो ।

प्रकाशित मिति: : 2020-11-13 13:23:00

प्रतिकृया दिनुहोस्