तिहारमा पनि रोकिएन भारत पस्नेहरूको लर्को, भन्छन्– ‘अहिले नै नगए साहुले कामबाट निकाल्छन्’

तस्बिर : लोकान्तर

जीवन विष्ट

रोजगारीका लागि भारतको दिल्लीतर्फ जाँदै गरेको अवस्थामा भेटिएका अछाम कमल बजारका गणेश कुँवर गत वर्षको यो बेला आफ्नै घरमा तिहार मनाइरहेका थिए । तर यस वर्ष भने तिहारको मुखमै उनी रोजगारीका लागी भारत जाँदै छन् ।

नाकाबाट भारत पस्नेहरूको भीडमा निकै उदास देखिरहेका उनलाई मैले सोधें– तिहार आयो त ? ‘सर तिहार त आउँछ जान्छ के गर्नु हाम्रो बाध्यता हामीसँगै छ,’ उनले जवाफ फर्काए । 

‘अब त तिहार आइसक्यो त मनाएर गएको भए पनि हुन्थ्यो नि ? मैले यति भनी नसक्दै,’ उनले जवाफ फर्काइहाले, ‘सर तिहार मनाउन त कसलाई रहर हुँदैन र मेरो पनि घरमा सानी दुई बहिनी छन् । उनीहरूको हात खाली छोडेर यसरी जानु पर्दा मन भतभती पोलेको छ । के गर्नु जानै पर्ने बाध्यता छ ।’ 

‘आमा सारै बिरामी हुनुहुन्छ । ३ वर्ष भयो बिरामी भएको, अहिलेसम्म रोग नै पत्ता लागेको छैन । यहाँका सबै अस्पताल लगिसकें तर कहीँ गएर ठीक भएन त्यसैले आमालाई लिएर भारत जाँदैछु । केही काम गरेर उतै आमाको उपचार गर्छु । आमाको औषधि पनि सकिएको छ, उहाँलाई झन्झन् गाह्रो हुन थालेपछि मुखमै आएको तिहार छाडेर भारत जाँदैछु’, उनले भने। 

कोरोना त्रासकै बीच गाउँ शहरमा तिहारको चहलपहल शुरू भइसक्दा पनि भारत जानेहरूको संख्यामा भने कमी आएको छैन ।

दशैँको समयमा भारत जानेहरूको लर्कोले भरिभराउ त्रिनगर नाकामा अहिले तिहारको समयमा पनि त्यस्तै लर्को छ ।

प्रकाशित मिति: : 2020-11-13 15:13:00

प्रतिकृया दिनुहोस्