ओलीको 'संघीयताविरोधी विचार' माथि प्रचण्डद्वारा फेरि प्रश्न

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- प्रधानमन्त्री केपी ओली शर्मा ओलीप्रति विभिन्न कोणबाट आलोचना गर्दै शुक्रबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रचण्डले १९ पृष्ठ लामो प्रतिवेदन पेश गरे। अन्य कैयौं आरोपका साथै ओलीको 'संघीयताविरोधी विचार' माथि पनि प्रचण्डले प्रश्न उठाएका छन्।

'कमरेड ओलीले संविधानको मर्म र भावना अनुसार प्रदेशहरुलाई बलियो बनाउन पहल गर्नुको साटो सकेसम्म प्रदेशहरुको अधिकार कटौती गरी एकात्मक केन्द्रीकृत मान्यता अनुसार नै शासन चलाउन जोड गरिरहनुभयो।

प्रदेशसँग सम्बन्धित विधेयकहरु बनाउँदा होस् वा कर्मचारी र आर्थिक विन्यास गर्दा होस्, उहाँको त्यो संघीयताविरोधी विचार प्रकट भइरहेका छन्', प्रचण्डको प्रतिवेदमा भनिएको छ, 'हालै कर्णाली प्रदेशका पार्टी पदाधिकारीहरुसँगको छलफलका क्रममा प्रदेशलाई संघीय सरकारको प्रशासनिक इकाइमात्र रहेको तथा सबै प्रदेश र देशकै दल नेता आफू मात्र भएको व्याख्या गरेर उहाँले आफूलाई संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावनाविपरीत रहेको तथ्य प्रमाणित गरिरहनुभएको छ।' 

पार्टी एकता र संविधानका आधारभूत वैचारिक राजनैतिक पक्षमाथि ओलीबाट निरन्तर प्रहार भएकै कारण आज पार्टी र सरकारमा गम्भीर संकट उत्पन्न भइरहेको प्रचण्डको भनाइ छ।

प्रतिवेदन नेकपाका सचिवालय सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ। अर्को बैठक मंसिर ३ गते बोलाइएकाले त्यही दिन वा त्यसपछिका दिनहरुमा प्रचण्डको आरोपको निरुपण होला। तर, ओलीको 'संघीयताविरोधी विचार' माथि प्रचण्डले प्रश्न उठाएको यो पहिलोपटक भने होइन। संविधान बनेकै केही समयपछि नै प्रचण्डले ओलीमाथि कहिले कडा र कहिले नरम, कहिले सिधै र कहिले घुमाउरो भाषामा ओलीमाथि आरोप लगाउँदै आएका छन्।

प्रकाशित मिति: : 2020-11-14 15:01:00

प्रतिकृया दिनुहोस्