अफगानिस्तानमा पहिलोपल्ट महिला क्रिकेट टिम अनुबन्धित, अभ्यासमा चुनौती

अफगानिस्तानले पहिलो पल्ट महिला टिम अनुबन्धित गरेको छ। यसअघि टेस्ट खेल्ने १२ देशमध्ये अफगानिस्तानसँग मात्र महिला टिम थिएन। 

अफगानिस्तानले यसै साता २५ जना खेलाडीलाई अनुबन्धन गरेको थियो। महिला खेलाडीको अनुबन्ध एक वर्षको हुनेछ र त्यो अनुबन्ध ६–६ महिनामा पुनर्रावलोकन हुने बोर्डले जनाएको छ। 

महिला टिमको क्याम्प कहाँ राख्ने भन्ने विषयमा कुनै स्पष्टता छैन। किनभने अफगानिस्तानको परम्पराअनुसार महिला टिमको क्याम्प भएको बेला पुरुषहरूलाई प्रवेश निषेध गरिएको छ। फेरि सुरक्षाको कारण राजधानी काबुलबाट बाहिर महिलाको क्याम्प राख्न निकै गाह्रो छ। 

बोर्ड पदाधिकारीले अफगानिस्तानमा महिलालाई शिक्षा, खेलकुद, स्वास्थ्य क्षेत्रमा प्रवेश गर्न सोचेजति सहज नभएको बताएका छन्। यसैले उनीहरू योजनासहित विस्तारै अगाडि बढ्नुपर्ने बताउँछन्। 

अफगान बोर्डले पुरुष खेलाडीलाई एक वर्षको अनुबन्धनमा सर्वाधिक ७० लाख रुपैयाँ खर्चिने गरेको छ। अफगानिस्तान एकदिवसीय र टि–२० मा विश्वको १० औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-11-16 16:38:00

प्रतिकृया दिनुहोस्