अस्ट्रेलियाका टेस्ट कप्तान टिम पेन र विकेटकिपर म्याथ्यु आइसोलेसनमा

अस्ट्रेलियामा बढ्दो कोरोना संक्रमणको घटनाले भारतविरूद्धको टेस्ट शृंखला प्रभावित बन्ने सम्भावना बढेको छ। 

अस्ट्रेलियाका टेस्ट कप्तान टिम पेन र विकेटकिपर म्याथ्यु वेडसहित केही खेलाडी आइसोलेसनमा बसेका कारण शृंखला प्रभावित बन्न सक्ने बताइएको छ। 

यद्यपि क्रिकेट अस्ट्रेलियाले १७ डिसेम्बरदेखि सुरु हुने पहिलो दिवा–रात्री टेस्ट निर्धारित समयमा सुरु हुने बताएको छ। 

एडिलेडमा कोरोना संक्रमणको घटना बढेपछि पश्चिम अस्ट्रेलिया, तस्मानिया र उत्तरी क्षेत्रको केही राज्यको सीमा बन्द गरिएको छ। 

सोमबारदेखि एडिलेडबाट आउने व्यक्तिलाई १४ दिनको अनिवार्य क्वारेन्टाइनको नियम लागु गरिएको छ। 

तस्मानियाको टिम हालै दक्षिण अस्ट्रेलियाबाट शेफिल्ड शिल्डमा सहभागी भएर फर्किएको छ। यस्तो अवस्थामा टिमका सबै सदस्यले १४ दिन क्वारेन्टाइनमा बस्नु परेको हो। 

अस्ट्रेलियाका कप्तान पेन र विकेटकिपर वेड यही टिमबाट खेल्ने गर्छन। क्रिकेट तस्मानियाले अघिल्लो स्वास्थ्यको नोटिस नआएका कारण कुरेर बसेको जानकारी दिएको छ। 

आइपीएल खेलेर फर्किएका भारतीय तथा अस्ट्रेलियाली खेलाडी पनि हाल क्वारेन्टाइनमा छन्। उनीहरूको क्वारेन्टाइनको समय २७ नोभेम्बरदेखि सुरु हुने एकदिवसीय श्रृंखलाभन्दा अगाडि समाप्त हुनेछ।

प्रकाशित मिति: : 2020-11-16 20:32:00

प्रतिकृया दिनुहोस्