जनताको पैसा सुरुङमा : विदेशमा पसिना बगाएर र स्वदेशमा गाई–भैँसी बेचेर सर्वसाधारणले दिएको ३६ करोड अलपत्र

तस्बिर : नयाँ पत्रिका

केदार दाहाल/जीवन बस्नेत/सुदीप शिवाकाेटी

भीमफेदी–कुलेखानी सुरुङ मार्गका नाममा नेपाल पूर्वाधार विकास कम्पनीले मकवानपुरका सर्वसाधारण र विभिन्न संघसंस्थाबाट सेयर उठाएको करिब ३६ करोड जोखिममा परेको छ । विदेशमा मजदुरी गरेर जोडेको रकमदेखि घरमा भएका बाख्राका पाठासम्म बेचेर स्थानीयले गच्छेअनुसार दश हजारदेखि दश लाखसम्म सेयर हालेका थिए । तर, विकासको असाधारण सपना देखाएर गरिबको पसिनासमेत लुटिएको छ । 

सरकारले ६ जेठ ०७० मा सुरुङ मार्ग निर्माणका लागि पूर्वाधार विकास कम्पनीलाई अनुमतिपत्र दिएको थियो । त्यतिवेलैदेखि स्थानीयबाट सेयर रकम उठाउन थालेको कम्पनीले अहिलेसम्म ३५ करोड ७६ लाख संकलन गरिसकेको छ । भीमफेदी र इन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिकाका अधिकांश सर्वसाधारणले सुरुङ मार्गमा सेयर हालेका छन् । तिनैमध्येका एक हुन्– भीमफेदी– ६ का नवराज राना ।

करिब आठ वर्षअघि दुबईको प्रचण्ड गर्मीमा मजदुरी गरिरहेका वेला श्रीमतीले फोन गरेर घरछेउबाटै सुरुङ मार्ग बन्ने खबर सुनाउँदा नवराज निकै हौसिएका थिए । निर्माण कम्पनीले स्थानीयलाई पनि सेयर दिने कुराले त उनलाई झन् पुलकित बनायो, मनमनै घरअगाडिको सुरुङबाट गाडी कुदेको देख्न थाले । ०७० मा उनले श्रीमतीको बैंक खातामा २० हजार रुपैयाँ पठाइदिए र फोन गरेर भने– यो पैसा अन्त खर्च नगर्नू, सुरुङ मार्गमा सेयर लगानी गर्नू । 

प्रकाशित मिति: : 2020-11-22 11:26:00

प्रतिकृया दिनुहोस्