उपभोक्ता ठगिने बजार

गोरखापत्र

काठमाडाैं

डा. सुरेश आचार्य

छठ चाडको समापनसँगै बहुसङ्ख्यक नेपालीका यस वर्षका ठूला चाडबाड सकिएका छन् । त्यसो त नेपालमा हरेक महिनाजसो चाडबाड परिरहेकै हुन्छन् । सामान्यतः मकर सङ्क्रान्तिबाट चाडहरू प्रारम्भ हुने, साउन सङ्क्रान्तिबाट चाडहरूले तीव्रता पाउने र छठमा आइपुगेर चाड समापन हुने देखिन्छ । सूर्यको अवस्थिति पनि साउनबाट बिस्तारै दक्षिणायण र माघबाट उत्तरायण हुने गर्छ । मकर सङ्क्रान्ति अघि नै आउने धान्य पूर्णिमा कृषिप्रधान मुलुकको अर्को ठूलो चाड हो । यही दिन नेवार समुदायले योमरी पुन्ही, तमू समुदायले ल्होसार र किरात र लिम्बू समुदायले उँधौली चाड मनाउने गर्छन् । जनकपुरको जानकी मन्दिरमा मनाइने विवाहपञ्चमी पनि यहीबीचमा पर्छ । हिन्दु र वैष्णव सम्प्रदायले समेत विशेष रूपमा मनाउने ठूलो एकादशीका रूपमा चिनिने हरिबोधिनी एकादशी पनि यसै अवधिमा पर्छ । तर, यो आलेखमा साँस्कृतिक पक्षको विश्लेषण गर्न खोजिएको होइन । न त अरू चाडबाडका महŒवलाई कम आँकेर सबै चाड सकिए भन्न खोजिएको नै ।
चर्चाको विषयचाहिँ चाडबाडमा नागरिकले खेप्नुपर्ने मारको सन्दर्भ हो । आफ्ना संस्कृतिविशेषका हरेक चाड खर्चिलो हुने गर्छन् । दसैँ र तिहारचाहिँ अधिकांश नेपालीले मनाउने चाड भएको र लामो दिनसम्म चल्ने चाड भएकाले अझ खर्चिलो हुन्छ । दसैँमा नयाँ नाना, मीठो खाना, आशिषका लागि अतिथिहरूको ओइरो लाग्ने कारण पनि स्वाभाविक रूपमा हरेक परिवारको खर्च बढेकै हुन्छ । लक्ष्मीपूजामा गरिने दीपावली र भाइटीकामा उपहार, मसला र मिठाइले तिहारलाई पनि महँगो बनाइदिएको छ । चाडबाडमा मानिसलाई गच्छेअनुसारको व्यवहार गर्नुपर्छ त भनिँदै आएको छ । तर, समाजअनुसार चल्नुपर्ने बाध्यताका कारण भन्न जति सजिलो छ, व्यवहार त्यति सहज हुँदैन । मानिसहरू ऋण लिएर भए पनि चाडबाड मान्न बाध्य छन् ।
यही बेलालाई व्यापारीहरूले वर्ष दिनको कमाइ गर्ने मौकाका रूपमा लिएका हुन्छन् । वस्तुको विनिमयबाट हुने लाभ यो समयमा स्वाभाविक हो । कुनै परिवारले अरूबेलाभन्दा दसगुणा बढी खर्च गर्छ भने व्यापार व्यवसायमा लागेकाहरूले पनि त्यही अनुपातमा लाभ प्राप्त गर्नु स्वाभाविक हो । तर, प्रश्न यत्तिमा सीमित हुँदैन । चाडबाडका समयमा बजार मूल्यको कुनै सीमा नै हुँदैन यहाँ । वस्तु किन्नैपर्ने बाध्यताको फाइदा उठाएर व्यापार गर्नेले १२ महिनाको मात्र होइन, ३२ महिनाको आम्दानी गरिरहेका हुन्छन् । भलै यसपटक कोभिड–१९ का कारण न क्रेताको क्षमता त्यति धेरै रह्यो, न बिक्रेताहरूलाई नै त्यो अवसर मिल्यो । तर जहाँ मौकाको फाइदा लिन सकिने थियो, त्यहाँ कसैले छाडेन ।
नियमित रूपमा कालो बजारी गर्दै आएकाहरूलाई न कोभिडले रोक्यो, न नागरिकको क्रय शक्तिले फरक पा¥यो । यसपटक दसैँ बजारमा देखिएको एउटा सकारात्मक पक्ष हरेक दसैँमा झैँ यसपटक मासुको मूल्य बढेन । बरु घट्यो । माग र आपूर्तिबीचको सन्तुलनका कारण यस्तो भयो वा व्यापारीले क्रेताको क्षमताप्रति दयाभाव राखे, मासुको दसैँ महँगो परेन । तर, स्वदेशमा उत्पादित अरू वस्तुको बजार भाउ यति आकासियो कि टोपी लगाउने ग्राहकको त टोपी नै खस्यो, टोपी नलगाउनेका आँखा एकैपटक तालुमा पुगे । धार्नीको सय रुपियाँको हाराहारीमा चलिरहेको आलुको मूल्य तीन सय रुपियाँसम्म पुग्यो । सरकारले दसैँ पसलबाट ७० रुपियाँ किलो चिनी बिक्री गरिरहँदा अरू व्यापारीले ८५ रुपियाँमा एक पैसा घटाएनन् । बरु बजारमा दानादार चिनीको अभाव देखाएर ओसिएको चिनी बेचिछाडे । एकातिर चिनी बिक्री भएन भनेर उखु किसानलाई मिल मालिकले वर्षौंसम्म पैसा दिइरहेका छैनन्, अर्कातिर गुणस्तरहीन चिनी बजारमा पठाएर चर्को मूल्यमा उपभोक्ता ठग्न छाडिएको छैन । एकातिर सरकारलाई दबाब दिएर मिल मालिकहरू चिनी आयातमा रोक लगाउँछन्, अर्कातिर अन्तर्राष्ट्रिय मूल्यभन्दा चर्को मूल्यमा किन्न उपभोक्ता बाध्य छन् ।

प्रकाशित मिति: : 2020-11-23 10:07:00

प्रतिकृया दिनुहोस्