नेपाली भाषीमाझ लोकप्रिय असमका पूर्व मुख्यमन्त्री तरुण गोगोईको निधन

नेपाली भाषीहरूको बलिया उपस्थिती रहेको असमका पूर्व मुख्यमन्त्री तरुण गोगोईको ८६ वर्षको उमेरमा निधन भएको छ। 

कोरोना संक्रमणबाट लडिरहेका गोगोईको राजधानी गुवाहाटीस्थित मेडिकल कलेजमा सोमबार साँझ ५ बजेर ३४ मिनेटमा निधन भएको अस्पतालले बताएको हो। उनी तीन पल्ट असमको मुख्यमन्त्री थिए। 

उनी भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको कार्यकालमा १९७१ मा पहिलो पल्ट लोकसभाको सांसद बनेका थिए। राजीव गान्धीको समयमा १९८५ र १९९० मा दुई पल्ट भारतीय कंग्रेसको महासचिव पनि बने। 

पिभी नरसिंहराव भारतको प्रधानमन्त्री नियुक्त हुँदा उनी १९९१–१९९६ सम्म खाध्य राज्यमन्त्री पनि बनेका थिए। 

उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेसी नेता राहुल गान्धीले दुःख प्रकट गरेका छन्। 

गोगोईको शरीरमा टक्सिन जम्मा भएपछि आइतबार ६ घण्टा डायलिसिस गरिएको थियो। असमका मुख्यमन्त्री सर्वानन्द सोनोवालले पनि उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

२ नोभेम्बरमा बिरामी परेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। शनिबार उनलाई भेन्टिलेटरमा भर्ना गरिएको थियो। 

२५ अगस्टमा उनलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि गुवाहाटी मेडिकल अस्पतालमा भर्ना गरिएको परिवारिक श्रोतले बताएको छ। 

कोरोनाबाट लडिरहेका गोगोईलाई स्वास्थ्य सम्बन्धि अरु पनि समस्या भएका कारण दुई महिना अस्पतालमा राख्नु परेको थियो। 

गोगोईको जन्म ११ अक्टुबर १९३४ मा भएको हो। उनी २००१–२०१६ सम्म असमको मुख्यमन्त्री थिए। 

लामो समय असमको मुख्यमन्त्री बन्ने कीर्तिमान उनीसँग थियो। उनको छोरा गौरव गोगोई पनि सांसद छन्।

प्रकाशित मिति: : 2020-11-24 07:47:00

प्रतिकृया दिनुहोस्