भारती र हर्ष जमानतमा छुटे

नार्कोटिक्स ड्रग्स एण्ड साइकोट्रापिक सब्सटेन्सेज अदालतले भारतीय चर्चित कमेडियन भारती सिंह तथा उनको पति हर्ष लिम्बाचियालाई जमानतमा छोडेको छ।

उनीहरु दुवैलाई १५ /१५ हजार रुपैयाँ जमानत लिएर छाडिएको हाे।

नारकोटिक्स कन्ट्रोल ब्यूरोले गाँजा लिएको आरोपमा भारतीयलाई गत शनिबार र उनको पति हर्षलाई आइतबार नियन्त्रणमा लिएको थियो।

एनबीसीले आइतबार भारतीलाई जुडिसियल कस्टडी तथा हर्षलाई रिमाण्ड मागेको थियो। तर अदालतले दुवैलाई जुडिसियल कस्टडिमा पठाइदिएको थियो। 

आइतबार दुवैजनालाई नारकोटिक्स ड्रग्स एण्ड साइकोट्रापिक सब्सटेन्सेज अदालतमा उपस्थित गराइएको थियो।

अदालतले उनीहरुलाई चार डिसेम्बरसम्‍म जुडिसियल कस्टडीमा पठाउन आदेश दिएको थियो। त्‍यसपछि सोमबार सुनुवाइ तोकिएको थियो। भारतीलाई कल्याण जेल र उनका पति हर्षलाई तलोजा जेलमा राखिएको थियो।

अदालतले भारती र हर्षको घर तथा अफिसबाट भेटिएको गाँजा कम मात्रामा रहेको र यो मात्र प्रयोगको लागि रहेको भन्‍दै प्रहरी कस्टडीको आवश्‍यकता नरहेको आदेश दिएको थियो।

भारतीको पति हर्षमाथि प्रहरीले नार्कोटिक्स एक्ट- १९८६को धारा २७ ए लगाएको छ। अर्थात हर्षलाई ड्रग्सको फाइनान्स तथा ट्रान्सपोर्टेशनको धारा लागू गराइएको छ।

शनिबार एनसीबीको छापामा भारतीको घर तथा अफिसबाट ८६.५ ग्राम गाँजा फेला परेको थियो। उनले पति हर्षसँग गाँजा लिएको स्वीकार गरेकी थिइन्। त्यसपछि शनिबार नै भारतीको अन्धेरी, लोखण्डवाला तथा वर्सोवाको घर तथा अफिसमा प्रहरीले छापा मारेको थियो। साथै भारतीको घरमा काम गर्ने कामदारसँग समेत सोधपुछ गरिएको थियो।

प्रकाशित मिति: : 2020-11-24 13:14:00

प्रतिकृया दिनुहोस्