बर्दिवास घटना : न्यायप्रतिको आश मरेपछिको परिणाम

अनलाइनखबर

काठमाडाैं

९ मंसिर, जनकपुरधाम । बर्दिवास नगरपालिका-१४, महोत्तरीका शहीद आलमकी ६ वर्षकी छोरी गुलाब आइतबार साँझदेखि हराइरहेकी थिइन् । चकलेट किन्न भनेर घरबाट गएकी उनको शव सोमबार राति १ बजेतिर हत्या गरेर बोरामा हालिएको अवस्थामा घर नजिकैको खेतमा भेटियो ।

बलिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने स्थानीयको आंशका छ । तर पोष्टमार्टम रिपोर्ट नआएसम्म यसबारे केही भन्न नसकिने महोत्तरी प्रहरीले बताएको छ ।

उनको हत्या गरेको अभियोगमा अरुणकुमार साह पक्राउ परेका छन् । बर्दिबासमा किराना पसलका सञ्चालन गर्दै आएका २५ वर्षका साहले सोमबार मदिराले मातेका बेला परिवारका सदस्यसँग बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यही सूचनाका आधारमा पक्राउ गरी सोधपुछ गर्दा अभियोग स्वीकार गरेको प्रहरीले बताएको छ ।

वालिकाको हत्या भएको जानकारी पाएलगतै स्थानीय आन्दोलित भए । आन्दोलनकारीहरु यति आक्रोशित भए कि साहको घरमा उनीहरुले आगो लगाइदिए । प्रहरीले दमकल बोलायो । तर, स्थानीयले त्यसलाई पनि अवरोध गरे । आगलागीबाट साहको घरमा क्षति भएको छ ।

स्थानीयको आक्रोश यतिमै सीमित रहेन् । पक्राउ परेका साहलाई आजीवन काराबासको सजायँ दिनुपर्ने भन्दै बजार बन्द गराए । पूर्व-पश्चिम राजमार्गमा टायर बालेर सडक जाम गरे ।प्रहरीले निरन्तर प्रयास गर्दा पनि उनीहरुले सडक खोलेनन् । सडक सुचारु गर्ने क्रममा प्रहरीले अश्रु ग्यास र हवाई फायर गर्‍यो । प्रहरीको गोली लागेर तीनजना घाइते भएका छन् । घाइतेमध्ये श्याम कार्की र सञ्जय न्यौपानेलाई काठमाडौं लगिएको छ भने अफताब आलमको बर्दिवासमै उपचार भइरहेको छ ।

प्रकाशित मिति: : 2020-11-25 00:18:00

प्रतिकृया दिनुहोस्