आज फिलिप ह्युजको पुण्यतिथि, क्रिकेट बलले लागेर गुमाएका थिए ज्यान

अस्ट्रेलियाका प्रतिभाशाली क्रिकेटर फिलिप ह्युजको आज अर्थात २५ नोभेम्बर छैटौं पुण्यतिथि हो। 

उनको २७ नोभेम्बर २०१४ मा बलले लागेर निधन भएको थियो। सिड्नीमा साउथ अस्ट्रेलिया र न्यु साउथ वेल्सबीच भएको खेलमा ब्याटिङ गरिरहेका फिलिपलाई सिन एबोटको सटपिच बलमा टाउकोमा चोट लागेको थियो।

 फिलिपले हेलमेट लगाए पनि उनको पछाडि पट्टिको भागमा बलले लागेको थियो। २५ नोभेम्बरमा भएको खेलमा उनी टाउकोमा चोट बोकेपछि क्रिजमै ढल्न पुगेका थिए। 

उनलाई तुरुन्त अस्पताल भर्ना पनि गरिएको थियो। तर, होस खुल्न नसकेपछि कोमा कै अवस्थामा २७ नोभेम्बरमा सेन्ट विसेन्ट अस्पतालमा निधन भयो। 

यो घटनाले पूरै खेल जगतलाई स्तब्ध पारेको थियो। यो घटनापछि क्रिकेटको नियममा केही परिवर्तन आएको थियो। विशेष गरेर ब्याट्सम्यानले लगाउने हेलमेटलाई थप सुरक्षित बनाइयो। 

हेलमेटको पछाडि पनि ब्याक रिम राखियो। उनको निधनपछि सिड्नी क्रिकेट ग्राउन्डको सात नम्बर पिचमा खेल हुन छोड्यो। यो अहिलेसम्म कायम छ। 

२५ वर्षीय फिलिपले २६ नोभेम्बर २००९ मा टेस्टमा डेब्यु गरेका थिए। उनले २६ टेस्ट, २५ एकदिवसीय र एउटा टि–२० खेलेका थिए। 

टेस्टमा उनको नाममा ३ सतक र १५ सय ३५ रन समावेश छ। एकदिवसीयमा ४ सतक बनाएका फिलिपले ८ सय २६ रन बनाएका थिए।

प्रकाशित मिति: : 2020-11-27 11:22:00

प्रतिकृया दिनुहोस्