कक्षा १२ को परीक्षामा बेथिति : १३ घन्टाअघि नै प्रश्नपत्र आउट, मोबाइलमार्फत चिटिङ, परीक्षा हलमै टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट

९ मंसिरदेखि जारी कक्षा–१२ को परीक्षाअन्तर्गत ११ मंसिरको फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएको खुलेको छ । बुटवलका एक शिक्षकका अनुसार फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएर विद्यार्थीहरूको फेसबुक ग्रुपमा आइसकेको थियो । ‘बुटवलमा अघिल्लो साँझ ७ बजे केही व्यक्तिमाझ प्रश्नपत्र पुगेको थियो । भोलिपल्ट पेपर पाएपछि शिक्षकहरूले सामाजिक सञ्जालमा आएको र परीक्षाका लागि मेलमा पठाइएको पेपर एकै भएको देखेपछि तत्काल पनिकालाई जानकारी गराएका थिए,’ ती शिक्षक भन्छन्, ‘परीक्षा बोर्डका अधिकारीले गल्ती स्वीकार नगरी उल्टै शिक्षकलाई प्रहरी लगाएर समात्ने धम्की दिएपछि कुरा सेलायो ।’

यसबारेमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव, परीक्षा उपनियन्त्रक र प्रदेश परीक्षा कार्यालय प्रमुख पूर्ण जानकार रहेको उनी बताउँछन् । भन्छन्, ‘उनीहरूले शिक्षकलाई धम्की दिएपछि विद्यार्थीलाई अप्ठ्यारो पर्ला भनेर शिक्षक चुप लागेका हुन् । छानबिनमा सजिलो होस् भनेर हिजो ग्रुपमा समेत राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्याल, परीक्षा उपनियन्त्रक सुवास पन्त र राष्ट्रिय परीक्षा बोर्ड बुटवल कार्यालय प्रमुख रमाकान्त तिवारीलाई शिक्षकहरूले जोडिदिएका छन् ।’
बोर्ड स्रोतका अनुसार बिहीबारको फिजिक्स विषयको प्रश्नपत्र आउट भएको भन्ने विषयमा बोर्डले प्रहरीलाई छानविनका लागि अनुरोध गरेको छ । पनिकाका अधिकारीका अनुसार फिजिक्समा बुधबार र बिहीबार प्रश्नपत्र आउट भएको बताउँदै दुई सेट पनिकामा आइपुगेका थिए । बुधबार पनिकाका अधिकारीसम्म आइपुगेको सेट मिलेको थिएन । बिहीबार परीक्षा सुरु भएपछि पौने नौ बजे बुटवलको एक स्कुलका विद्यार्थीको ग्रुपमा प्रश्नपत्र आएको बताउँदै स्थानीय शिक्षकबाट ‘स्क्रिन सट’ आएको बोर्ड स्रोतले जनाएको छ ।

प्रश्नपत्र आउट भएको खबर गरेका बुटवलका शिक्षकले बोर्डका दुईजनालाई बिहीबार विद्यार्थीको ग्रुपमा जोडेका थिए । प्रश्नपत्र आउट भएको अथवा फर्जि बनाइएको विषयमा विषय छानबिन गर्न बोर्डले प्रहरीलाई आग्रह गरेको छ । बिहीबार नै फिजिक्स विषयमा बोर्डकै लोगो प्रयोग गरेर परीक्षा रद्द भएको भन्ने गलत सूचना सामाजिक सञ्जालमा आएको थियो । बोर्डले भने परीक्षा रद्द नभएको स्पष्ट पारिसकेको छ । बोर्ड स्रोतका अनुसार शनिबार सञ्चालन भएको केमेस्ट्री विषयका बाहिरिएका प्रश्नपत्र भन्दै ६ सेट बाहिर आएका थिए । बोर्डमा पुगेका सेटमध्ये कुनै पनि नमिलेको एक अधिकारीले बताए । हिमाली जिल्लाका लागि छपाइ गरेर पठाइएका प्रश्नपत्र बाहिरिएको हुन सक्ने शंका पनि बोर्डका अधिकारीहरूको छ ।

प्रकाशित मिति: : 2020-11-29 10:00:00

प्रतिकृया दिनुहोस्