डिप र स्यालो ट्युबवेल जडान

सांकेतिक तस्बिर

वर्षेनी खडेरीको समस्या खेप्दै आएका सिरहा र सप्तरीका किसानलाई राहत पुग्ने गरी १२ डिप ट्युबवेल जडान भएको छ। भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले  सिरहामा छ र सप्तरीमा छ थान डिप ट्युबवेल जडान गरेको हो।

कार्यालयले आव ०७६/०७७ मा सिरहाको मिर्चैया नगरपालिका– ११ सितापुर, सखुवानन्कारकट्टी गाउँपालिका– १ भोर, लक्ष्मीपुर पतारी गाउँपालिका– २ पोखरभिण्डा, मिर्चैया नगरपालिका– १ बिर्ता, बरियारपट्टी गाउँपालिका– २ खोक्सी र नरहा गाउँपालिका– ४ बलुवामा एक÷एक थान डिप ट्युबवेल जडान गरिएको कार्यालयका प्रमुख सुदर्शनप्रसाद अधिकारीले जानकारी दिए। 

यस्तै सप्तरीको राजविराज नगरपालिका, रुपनी गाउँपालिका, कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णासबरण गाउँपालिका र कञ्चनरुप नगरपालिका– ८ धर्मेश्वरमा एक/एक थान गरी सप्तरीमा ६ थान डिप ट्युबवेल जडान गरिएको उनले बताए। 

त्यतै सो आवमा सिरहा र सप्तरीमा २६ थान स्यालो ट्युबवेल जडान गरेको कार्यालयले जनाएको छ। सो अवधिमा १४ वटा पम्पको मर्मत गरी पुनःसञ्चालनमा ल्याएको, १८ वटा वितरण प्रणाली तथा घर निर्माण गरिएको छ। 

सिरहामा पाँच थान पावर ड्रिलसमेत जडान गरिएको कार्यालयका सूचना अधिकारी पुष्पराज दाहालले जानकारी दिए। उनका अनुसार सो आर्थिक वर्षमा ती दुई जिल्लाका १६ स्थानमा विद्युतीकरण पम्प जडान गरिएको छ। रासस 

प्रकाशित मिति: : 2020-11-29 13:57:00

प्रतिकृया दिनुहोस्