दुर्व्यसनकाे भुङ्ग्राेमा मधेश

मंसिर पहिलो साता प्रहरीले राति ८ः३० बजे लहान नगरपालिका–४ मा आकस्मिक चेकजाँच गर्‍याे। जाँचका क्रममा पैदल यात्रा गरिरहेका एक युवकको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले खानतलासी गर्‍याे। 

खानतलासका क्रममा ती युवाको साथबाट १ सय १० मिलिग्राम ब्राउन सुगर फेला पर्‍याे। अनुसन्धानका क्रममा ती युवाले ब्राउन सुगर लहान–४ बस्ने २४ वर्षीय रञ्जित यादवबाट खरीद गरेको भेद खुल्यो। 
 
लगत्तै प्रहरीले रञ्जित यादवको घरमा खानतलासी गर्‍यो। इलाका प्रहरी कार्यालय लहानका ईञ्चार्ज डिएसपी शरद थापा क्षेत्रीका अनुसार रञ्जित यादवको घरबाट प्रहरीले ब्राउन सुगर ३ सय ५० ग्राम, नोर्फिन एक एम्पुल, डाइजोपाम एक एम्पुल, फेनारगन एक एम्पुल र उत्तिकै मात्रामा नाइट्रोभेट ट्याब्लेट बरामद गर्‍यो।

सेतो ब्राउन सुगरको कालो कथा

सिरहा जिल्लामा ब्राउन सुगर जस्तो गम्भीर किसिमको लागूऔषध पक्राउ परेको यो नै पहिलो घटना थिएन। यसअघि लहान र गोल बजारबाट ब्राउन सुगरको कारोबारी र ब्राउन सुगर भण्डारण गरेको अवस्थामा पक्राउ परेका घट्ना धेरै छन्। 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रहरीले चालु आर्थिक वर्षमा ३७ जना ब्राउन सुगर कारोवारीलाई समाएर मुद्धा चलाएको छ। ब्राउन सुगर मात्र होइन, सीमावर्ती भारतीय बजारबाट लुकिछिपी ल्याइने विभिन्न किसिमका लागूऔषध र नेपालबाट भारततर्फ पैठारी हुने गाँजा र भारतबाट नेपाल भित्र्याइने औषधिजन्य लागुपदार्थ ओसार–पोसारमा संलग्नलाई प्रहरीले दिनहुँ जसो पक्राउ गरिरहेको छ।

चालु आर्थिक वर्षमा सिरहा प्रहरीले चार हजार ३३ विभिन्न प्रकारका लागूऔषध बरामद गरेको छ भने लागु औषधमा संलग्न १ सय जनालाई लागूऔषध कारोवारीको मुद्दा चलाइसकेको छ। 

नेपाल–भारत सीमा जोड्ने जयनगर, पिपराही, लदनियाँ, लोकहा लगायतका नाकामा पुगेर लागूऔषध सेवन र खरिदगरी ल्याउने जमात बढ्दो छ। 

प्रहरीले सीमा नाकामा ओहोरदोहोर गर्ने युवा जमातलाई लक्षित गरेर चेकजाँच गर्दा अधिकांशको साथबाट केही न केही लागूऔषधका सामग्रीहरु फेलापर्ने गरेको दावी गरेको छ। लागूऔषध सेवन र कारोवारीको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन्। पक्राउ पर्ने लागुऔषध प्रयोगकर्ता अभिभावकको निगरानीमा नभएका उल्लेख्य छन्। 

‘अभिभावकबाट राम्रो निगरानी नभएर लागूऔषधको कूलतमा फसेको देखिन्छ’, नेपाल–भारत सीमा क्षेत्रलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका आलोक यादवले भने–‘पढाई छोडेर बसेका, काम नपाएर फुर्सदमा बसेका युवा साथीसङ्गतको बहकावमा परेर दुर्व्यसनीमा फसेको पाइन्छ।’
 
प्रहरीले पक्राउ गरेर मुद्दा चलाउँदा पनि अभिभावकले आफ्ना बच्चा दुर्व्यसनमा फसेको पत्याउँदैनन्। 

मंसिर दोश्रो साता सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले गोलबजारमा गाँजा खेती नष्ट गर्‍याे। योसँगै चालु आर्थिक वर्षमा सिरहा प्रहरीले विभिन्न स्थानबाट गरी एक लाख पाँच हजार १९ वटा गाँजाको बोट नष्ट गरेको छ। 

खुला सिमानाको फाइदा उठाउँदै कारोवारीले लागूऔषधका सामग्री भारतबाट चोरीछुपी नेपाल भित्र्याउने गरेका छन् भने नेपालबाट गाँजा भारत लैजाने गरेका छन्। 

सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र गिरी भन्छन् –‘भारतबाट भित्रिने लागूऔषध र यहाँ खेती लगाइने गाँजा नेपाल–भारत दुबै देशका साझा समस्या भएकाले यसको निराकरणका लागि साझा अभियान चाल्न आवश्यक छ।’ 

प्रहरीका अनुसार, चालु आर्थिक वर्षमा प्रहरीले करिब २९ बिगाहा पाँच कठ्ठा १७ धुर क्षेत्रफलमा लगाइएको एक लाख पाँच हजार १९ वटा गाँजाको बोट नष्ट गरेको हो। सिरहाका बिभिन्न स्थानमा प्रहरीले गत आर्थिक वर्ष तीन बिगाहा १९ कठ्ठा जग्गाबाट ३३ हजार ७ सय ३० वटा गाँजाको वोट नष्ट गरेको थियो।

पारी कोरेक्स, वारी मदिरा

नेपाल–भारत सीमाका भारतीय बजारमा कोरेक्स र विभिन्न किसिमका औषधीजन्य लागुपदार्थका ट्याब्लेट खुल्मखुल्ला बिक्रिवितरण हुने भएकाले नेपालका धेरै युवा लागुऔषध सेवन गर्न भारतीय बजार जाने गर्छन।  यस्तै, भारतको बिहारमा मदिरा कारोवार र सेवनमा कानुनी रुपमा रोक लगाएपछि भारतसँग सीमा जोडिएका नेपाली हाटबजारमा बग्रेल्ति खोलिएका मदिरा पसलमा धेरैजसो बिहारका नागरिक ग्राहक बनेर आउने गरेका छन्। 

सीमासँग जोडिएका भारतीय बजारका मेडिकलमा मात्र होइन, किराना, कपडा, पान पसल, चिया पसलमा कोरेक्स लगायतका लागुऔषधको बिक्रि फस्टाइरहँदा नेपालका हाटबजारमा मदिराको ब्यापार बढेको छ। 

यहि मेसोमा भारतबाट औषधीजन्य लागुऔषध गैरकानुनी रुपमा नेपाल भित्रिने गरेको छ भने नेपालबाट मदिरा भारत भित्रिने क्रम बढेको छ। 

बिहार प्रहरीले मदिरा कारोवारीलाई पक्रिएर दिनहुँजसो मुद्धा चलाउने गरेका समाचार प्रकासित भइरहन्छन्। औषधीजन्य लागुपदार्थ भारतबाट नेपाल भित्र्याउने क्रममा सीमा क्षेत्रमा धेरै नेपाली युवालाई प्रहरीले पक्रने गरेको छ। सशस्त्र प्रहरी एसपी गिरी भन्छन्, ‘लागुपदार्थविरुद् सीमा क्षेत्रमा नेपाल–भारतले सयुक्त रुपमा अभियान चलाउन जरुरी छ।’

१९ सय मुद्धा

सिरहामा मात्र होइन, हालै गरिएको एक अध्ययनले प्रदेश–२ का सप्तरी, धनुषा, महोत्री, सर्लाही, रौतहट,बारा र पर्सामा लागुऔषध सेवनकर्ता र कारोवार बढेको देखाएको छ। 

प्रदेश दुईमा सक्रिय मधेस मिडिया मिसनले प्रदेश–२ का आठै जिल्लामा गरेको सर्वेक्षणले १६ देखी ३० बर्ष उमेर समूहका धेरै युवा लागुऔषधको दलदलमा फस्दै गएको पुष्टि गरेको हो। 

नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष समेत रहेका मधेश मिडिया मिसनका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता भन्छन्, ‘प्रदेश–२ का ८ जिल्लामा १९ सय हाराहारीमा लागुऔषध कारोवारी र सेवनकर्तामाथि मुद्धा चलाइएको पाइयो, यो संख्याले प्रदेश–२ लागुऔषधको दलदलमा फस्दै गएको पुष्टि गर्छ।’ 

तीनै तहको सरकार मौन

दुर्व्यसनमा फस्नेको संख्या अत्यास लाग्दोगरि बढिरहँदा केन्द्र, प्रदेश र स्थानीय सरकारले यसकाविरुद् कुनै ठोस कार्यक्रम सञ्चालन गर्न चासो देखाएको पाइदैन। 

युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको दावी गर्ने केन्द्र सरकारको युवा तथा खेलकुद मन्त्रालयले दुब्र्यसनीविरुद् दीर्घकालीन कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ। 

त्यस्तै प्रदेश सरकार र स्थानीय तहले पनि दुब्र्यसनविरूद्ध सचेतना अभियान चलाउन जरुरी छ, यस प्रदेशमा। युवा लक्षित विभिन्न शीपमुलक तालिम चलाउने स्थानीय तहले द्ुब्र्यसनविरूद्ध कार्यक्रम नियमित रुपमा चलाउनु पर्छ। 

खुल्ला संस्कृती उन्मुख नेपाली समाजमा हुर्किरहेका युवा पुस्ताको मनोदशा सम्बोधन हुनेगरि राज्यले युवालक्षित कार्यक्रम चलाउन ढिला गर्न नहुने सिरहाका प्रमुख जिल्ला अधिकारी कँडेलको भनाई छ।
(आलोक यादवको सहयोगमा)
 

प्रकाशित मिति: : 2020-12-02 11:55:00

प्रतिकृया दिनुहोस्