रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेलले निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले कार्यक्रम स्थलबाटै नियन्त्रणमा लिएको हो। 

पौडेलले फेसबुकमा लेखेका छन्, ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र  कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्।’

उनका सचिवालयका सदस्यहरुले पनि पौडेलसहित तनहुँका कार्यवाहक जिल्ला सभापति जित ओले पनि पक्राउ परेको जानकारी दिए।

यता प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पनि पौडेलले निषेधाज्ञा तोडेकोले नियन्त्रणमा लिइएको बताए।

‘उहाँले सुरक्षा घेरा तोड्नुभयो। भिडभाडमा सुरक्षा अवस्था समेतलाई हेरेर नियन्त्रणमा लिनु परेको हो। उहाँलाई जिल्ला प्रहरी कार्यालयमा राखेका छौं,’ उनले भने। 

पौडेलले तनहुँ व्यासस्थित बुल्दी पुल उद्घाटन गर्न गृह जिल्ला पुगेका थिए। 

पुल उद्घाटन  नेता पौडेलले गर्न नहुने भन्दै युवा संघले बुधबार बिहान ११ बजेदेखि करिब आधा घण्टा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेका थिए। 

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुन सक्ने भन्दै प्रशासनले आज साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको छ। 

प्रकाशित मिति: : 2020-12-02 15:52:00

प्रतिकृया दिनुहोस्