मेसीलाई भित्र्याउने तर्खरमा पीएसजी !

बिएल संवाददाता

काठमाडाै‌ं

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले  लियोनल मेसीलाई ल्याउन सकिने विकल्पबारे छलफल सुरु गरेको छ।

क्याटलान क्लब बार्सिलोनाका कार्यबाहक अध्यक्ष कार्लेस टस्केट्सले  मेसीलाई बेचे क्लबलाई आर्थिकरुपले नाफा हुने बताइरहेकाे बेला इएसपिएनले उनलाई ल्याउन सकिने सम्भावनाबारे पीएसजीले छलफल थालेको जनाएकाे हाे। 

मेसीको बार्सिलोनासँगको सम्झौता आउँदो समरमा समाप्त हुनेछ, त्यसपछि उनी जुन कुनै क्लब जान स्वतन्त्र हुनेछन्। 

जसबापत बार्सिलोनाले सरुवा रकम पाउने छैन। त्यसो त मेसीले यसै सिजनको सुरुवातामा क्लब छाड्ने इच्छा देखाएका थिए। 

तर कल्बका पूर्वअध्यक्ष जोसेप मारिया बार्तोमेउले मेसीले कल्ब छाडेर जाने भए ७०० मिलियन बढी रकम तिर्नुपर्ने भन्दै रोकतोक गरेका थिए।  

हालै ब्राजिली स्टार फरवार्ड नेयमारले आफ्नो पूर्वसहयात्री अर्जेन्टिनी कप्तान मेसीसँग आउँदो सिजन जसरी भए पनि खेल्ने इच्छा रहेको र त्यो पूरा गर्नै पर्ने बताएका थिए।

नेयमारले मेसीसँग कुन क्लबबाट खेल्ने भन्ने पुष्टि गरेका छैनन्। तर, पीएसजीबाट उनीहरुले खेल्न सक्नेछन्।

उनको त्यो भनाईपछि मेसी पीएसजीमा अनुबन्धित हुने सम्भावनाका खबर आउन थालेका हुन्।

नेयमार २०१७ मा विश्व कीर्तिमानी मूल्य १९८ मिलियन पाउन्डमा पीएसजी पुगेका थिए। त्यसअघि चार वर्ष मेसी र नेयमारले सँगै खेलेका थिए।

नेयमारले बार्सिलोनाबाट दुई स्पेनिस ला लिगा, तीन कोपा डेल रे, एक स्पेनिस सुपर कप, एक क्लब फिफा विश्वकप र एक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

नेयमार २०१३ मा ब्राजिली क्लब सान्तोषबाट बार्सिलोना आएका थिए।

उनले गत सिजन पीएसजीबाट लिग वानमा ४४ खेलमा ३१ गोल र २७ असिस्ट दिएका थिए। नेयमारले गत सातामात्रै लिग वानमा ५० खेलमा ५१ गोल गर्दै लिग वानमा सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान बनाएका छन्।

पीएसजीसँग नेयमारको सम्झौता २०२२ सम्म रहेको छ।

प्रकाशित मिति: : 2020-12-05 07:00:00

प्रतिकृया दिनुहोस्