के संक्रमण दोहोरिन्छ ?

दिनेश गौतम

पत्रकार खगेन्द्र दाहाललाई दोस्रो पटक कोरोना पोजिटिभ देखिएको छ। तर, पहिलो र दोस्रो भाइरस एकै प्रकृतिको हो÷होइन, यकिन छैन। पहिलो पटक सहजै निको भएका उनलाई यसपटक गाह्रो महसुस भइरहेको छ। भेरी अञ्चल अस्पतालको शय्याबाट उनले अन्नपूर्ण पोस्ट्सित भने, ‘यसपटकको संक्रमण खतरापूर्ण लाग्दै छ। तैपनि जितेर निस्कनु नै छ।’

उनले पहिलो पटक साउन २१ गते पीसीआर परीक्षण गराएका थिए। साउन २३ गते आएको रिपोर्टले कोरोना पोजिटिभ देखायो। स्थानीय होटलमा १४ दिन र घरमै ७ दिन आइसोलेसनमा बसे। उनले एक महिनामा पूर्ण स्वास्थ्यलाभको महसुस गरे। त्यसपछि प्लाज्मा दान गरे। पूर्ववत् दिनचर्यामा फर्किए। तर, सुरक्षा मापदण्ड अपनाउँदा–अपनाउँदै पुनः संक्रमण भयो।

उनले दोस्रो पटकको संक्रमणमा फरक अनुभूति गरेका छन्। मंसिर १५ गतेदेखि ज्वरो आउन थाल्यो। लगातार ज्वरो आएपछि १७ गते पीसीआर परीक्षण गराए। मंसिर १८ गते पोजिटिभ भएको रिपोर्ट आयो। ‘१०२ डिग्री ज्वरो आयो’, उनले भने, ‘विस्तारै शरीर दुख्ने भयो। टाउको दुख्न थाल्यो। खानाको स्वाद हरायो। सास फेर्न पनि गाह्रो हुन थाल्यो।’ पहिलो पटक संक्रमण हुँदा सामान्य रुघाखोकी थियो। 

काठमाडौंका एक व्यक्तिमा पनि दोस्रो पटक पोजिटिभ रिपोर्ट आएको छ। ‘पहिला कुनै लक्षण थिएन। आइसोलेसनमा बसेर डिस्चार्ज भइयो। दोस्रो पटक भने ज्वरो पनि आयो। सामान्य लक्षण देखियो’, निजी अस्पतालमा भर्नारत ती संक्रमितले भने।

प्रकाशित मिति: : 2020-12-06 11:04:00

प्रतिकृया दिनुहोस्