न्यायालय र न्यायाधीशमाथि भरोसा थियो

टेकराज थामी

तपाईंको परिचय नै सिद्धबाबा । सबैलाई सदाचार सिकाउने भनेर यत्रो आश्रममा बस्नुभएको छ, तर आश्रमभित्रै तपाईं स्वयंले बलात्कार गरेको अभियोगमा नौ महिना जेल बस्नुभयो । यसले समाजमा कस्तो सन्देश गएको छ । 

आरोप कसलाई लाग्दैन र ? देशको प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि आरोप लगाएका छैनन् र ? के ढुंगालाई आरोप लगाउँदैनन् ? पहाडलाई आरोप लाग्या छैन र ? जडचेतन सबैलाई आरोप लगाउँछन् मान्छेले । भगवान्लाई पनि आरोप लाउँछन् ।

तर, यो त आरोप मात्र होइन, प्रहरीले अनुसन्धान गरेर, सरकारी वकिलले अभियोजन दर्ता गरेर जिल्लादेखि सर्वोच्चसम्म पुगेको केस हो नि, त्यो पनि बलात्कारजस्तो जघन्य अभियोगमा । 

यस्ता आरोप किन लाउँछन् भन्ने महत्वपूर्ण कुरा हो । यो सृष्टि गुण र अवगुण तत्वले बनेको छ । एउटा कुरो अर्को साथीलाई राम्रो लाग्छ । त्यही अर्कोलाई नराम्रो लाग्छ । विश्वमा एउटै कानुन हुनुपर्ने नि ? देशैपिच्छे संविधान भिन्न । देशैपिच्छे कानुन भिन्न किन ? किनकि त्यो देशमा जुन विचारधाराको बहुमत छ, उनीहरूलाई त्यो विचारधारा मानेर नहिँड्ने व्यक्ति अपराधी लाग्छ । जुन व्यक्तिभित्र अवगुणको ज्यादा उदय हुन्छ, त्यतिखेर उसले जतासुकै अवगुण नै अवगुण देख्छ । जुन व्यक्तिभित्र गुणको उदय हुन्छ, त्यतिखेर उसले जतासुकै राम्रो देख्छ । सायद त्यही भएको हो कि ?

सन्यासीमाथि बलात्कारको आरोप खेप्ने तपाईं पहिलो त होइन । यसअघि भारतका विख्यात सन्यासी कुख्यात अपराधमा जेल परेका छन् । खासमा सन्यासी नै यस्तो काण्डमा किन मुछिन्छन् ?

तपाईंको प्रश्नको मसँग राम्रो उत्तर छ । कालोमान्छेको चेहरामा कालो दाग लाग्यो भने केही फरक पर्दैन । गोरोलाई कालो दाग लाग्दा सबैले देख्छ । फेरि संसारमा सबैभन्दा चर्को आशक्ति भनेको कामवासना हो । मान्छेले त्यसलाई जित्न सकेको छैन । अनि के हुँदोरहेछ त भन्दा आफू त रातदिन त्यसैमा भासिएको छ । अर्को व्यक्ति त्योभन्दा पर छ भने उसको मनमा डाहा उत्पन्न हुँदोरहेछ । त्यसो हुँदा यस्ता मानिसमाथि आरोप लाग्ने रहेछन् । 

प्रकाशित मिति: : 2020-12-11 06:20:00

प्रतिकृया दिनुहोस्