अमेरिकामा ‘हनी ट्रयाप’ मा फस्दै नेपाली

Breaknlinks
Breaknlinks

फेसबुकलगायत सामाजिक सञ्जालमा अपरिचित बिदेशी महिलाको ‘फ्रेण्ड रिक्वेस्ट’ आयो भने आकर्षित भएर स्वीकार नगर्नुहोला। यो कदम तपाईंको लागि प्रत्युपादक बन्न सक्छ। 

अमेरिकामा यस्तै अपरिचित महिलासँग साथी बन्दा धेरै नेपालीले धन मात्र गुमाएका छैनन्,  इज्जत पनि गएको छ। 

महिला प्रयोग गरेर पुरुषको गल्ती वा कमजोरी पत्ता लगाउने र त्यसैको आधारमा ‘ब्ल्याक मेल’ गर्ने प्रक्रियालाई अपराधको भाषामा ‘हनी ट्रयाप’ भनिन्छ। 

केही समयअघि आफूलाई बरिष्ठ पत्रकार दाबी गर्ने एक मान्यबरले फिलिपिनोमूल कि एक युवतीसँग नग्न अबस्थामा गरेको भिडियो कलको रेकर्डको आधारमा ‘ब्ल्याक मेल’ भएपछि मोटो रकम तिरेर समस्या समाधान गर्नुपर्यो। 

पैसा तिरेर समस्या समाधान भए पनि उनले भोगेको मानसिक, सामाजिक र आर्थिक क्षतिको हिसाब गरेर साध्य छैन, त्यसमा पनि पारिवारिक बिचलनको कथा बेग्लै छ।

बिदेशी, यसमा पनि विशेष गरेर सेतो छाला भएको महिलाले साथी बन्न गरेको आग्रह स्वीकार गर्नुमा सबैको आ–आफ्नै कारण हुन् सक्छन। तर सामान्यत यस्तो कारणमा पहिलो कुरा सजिलै यौन आनन्द लिन मनशाय हुनसक्छ। 

दोस्रो कारण– बिदेशी केटीसँग बिहे गर्न पाइयो भने कानुनी कागज बनाउन सहज हुने आशा हुनसक्छ भने तेश्रो कारण– बिदेशीसँग सम्बन्ध भएको मान्छेलाई हाम्रो समाजले बौद्धिकबर्गमा लिने लोभ पनि हुनसक्छ। 

अझ यसमा पनि ती बिदेशी महिला आकर्षक छिन् भने पुरुषको इज्जत थप केही बढ्ने गलत मानसिकतामा हामीहरु हुन्छौ।  

यस्तै गलत अहङ्कार (फल्स इगो) मा परेर धेरैले आफ्नो जम्मा पूँजी गुमाएका छन्। केही त प्रहरीको फन्दामा पनि परेका छन्।

केही अपबादलाई छोडेर कुरा गर्ने हो भने अमेरिकामा आकर्षक शरीर र सुन्दर अनुहार भएका महिलाले पहिले तपाईंलाई साथी बन्न प्रस्ताव राख्छन्। 

साथी बनिसकेपछि उनीहरुको सामन्यतया दुई बटा कुरा हुन्छ। पहिलो कुरा– मलाई तिमी जस्तो इमान्दार पुरुषको जरुरी छ। म तिमीसँग बिबाह गर्न चाहन्छु।
 
दोश्रो कुरा– मेरो बुवा वा आमाको सडक दुर्घटनामा मृत्यु भयो र हाल उपचारका लागि अस्पताल भर्ना हुनुहुन्छ। के तिमी मलाई केही पैसा मद्दत गर्नसक्छौं। 

महिलासँगको सङ्गतले ठूलै सपना देखेकालाई उसको प्रस्ताव अस्वीकार गर्दा मित्रता गुम्ला भन्ने डर हुन्छ र ‘देख्नु न सुन्नुको मान्छेलाई’ पैसा पठाउने गरेको थुप्रै प्रमाण भेटिएका छन्। 

त्यस्ता बिदेशी महिलाले जन्मदिन, प्रेम दिवस, क्रिसमस आदि जस्ता उत्सवको निहुँ पारेर बिभिन्न महंगो उपहार पनि ठग्ने गरेको पाइएको छ। 

यसमा रोचक कुरा के छ भने प्राय: सवै कथित ती प्रेमिकालाई तपाईहरुले भौतिक रुपमा कहिले भेट्न सक्नु हुन्न। ठगिएका ती पत्रकारले पनि फिलिपिनो भनिएकी ती युवतीलाई भौतिक रुपमा भेट्न सकेनन्। 

स:शुल्क बेश्यावृति गैरकानुनी भए पनि हाल अमेरिकामा ‘एक्स्कर्ट सर्भिस’, ’फ्रेन्डसीप सर्भिस’ जस्ता नामबाट अनेकौं कम्प्युटर एप्लिकेसन सञ्चालनमा छन्। यी साइटहरु अमेरिकामा मात्र होइन, नेपाललगायत अन्य देशमा पनि चर्चित होलान। 

यस्तो एप्स र बेभ साइटमा प्रवेश गएर आफ्नो प्रोफाइल बनाएर सदस्य बनेपछि सामान्य कुरा गर्न, नग्न शरीर हेर्न वा त्यस्तै यौनजन्य कुरा गर्न भिन्दाभिन्दै पैसा तिर्दै जानुपर्छ। 

जस्तो कि सामान्य कुरा गर्न दुई डलर तिर्नुपर्ने हुन्छ। यो शुल्क तिरेपछि एक घण्टा कुरा गर्न सकिन्छ। 

यस्तै नग्न शरीर हेर्न एक पटकमा दश डलर तिर्नुपर्ने हुन्छ। यस्तो समयमा लोग्ने मानिसले जोशमा क्रेडिट वा डेबिट कार्ड प्रयोग गरेको पत्तै पाउँदैनन् तर पैसाको क्षति भइसकेको हुन्छ। यसबाट ‘ब्ल्याक मेल’ को जोखिम पनि उत्तिकै हुन्छ। 

मध्य अफ्रिकी राष्ट्र गुयानाबाट सञ्चालन हुने यस्ता गिरोहको फन्दामा धेरै मान्छे परिसकेका छन्। यो अपराध हालसम्म रोकिएको छैन। 

हामी नेपाली अरुभन्दा आफूलाई बढी बाठो ठान्छौ। मलाई अरु कसैले फसाउन सक्दैन भन्ने भ्रमले गर्दा थुप्रै नेपालीहरु अमेरिकामा ‘हनी ट्रयाप’ को शिकार भएका छन्। 

मह जस्तो गुलियो र स्वादिष्ट जालमा पर्ने कारण यस्तो अपराधलाई ‘हनी ट्रयाप’ भनिन्छ। महिलासँग सम्बन्धित अपराध भएको कारण र यौन दुर्ब्यवहारलाई जघन्य अपराध मान्ने कारण कुनै किसिमले यस्तो जालमा फस्यो भने जिन्दगी नै ध्वस्त हुने खतरा रहन्छ। 

साथै स:शुल्क बेश्यावृति भएको छ कि छैन भनेर परीक्षण गर्न यस्ता महिलालाई प्रहरीले नै ‘अण्डर कभर’ को रुपमा परिचालन गरेको पनि हुनसक्छ। 

अमेरिका जस्तो कानुनी राज्य भएको देशमा कुनै कारणवश यस्तो जालमा फस्न पुग्यो भने ठूलो मुल्य चुकाउनुपर्ने हुन्छ।  

तसर्थ यस्तो लोभमा नफस्नु नै सबैका लागि कल्याणको विषय हो। देखेर नचेत्ने तर कुनै कारणले फन्दामा पर्यो भने खुट्टा समाउन पनि पछि नपर्ने हामी वीर नेपालीको विशेषता हो। 

अत: यो देशमा आफूले गल्ती गरिसकेपछि हरेक हालतमा सजायको भागी हुनुपर्ने कारण आफै सचेत हुनु राम्रो हुन्छ। आगे यहाँको मर्जी।

प्रकाशित मिति: : 2020-12-11 08:59:00

प्रतिकृया दिनुहोस्