'ढुक्क हुनुस्, बिमाको पैसा पाइन्छ’

शिखर इन्स्योरेन्सले अहिले कोरोना बिमाको एकद्वार (पुल) भुक्तानीको काम गरिरहेको छ। गत बिहीबारसम्म करिब १० हजार बिमितको दाबी भुक्तानी गरिसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बताए। सुरुआति समयमा धेरै बिमितको भुक्तानी रोकिएपछि बिमाप्रति नकारात्मक टिप्पणी सुरु भएको बेला अन्नपूर्णकर्मी विनय बन्जाराले पाण्डेसँग गरेको कुराकानीको संक्षेप :

कोरोना बिमाको पुलको काम शिखर इन्स्योरेन्सले नै गरिरहेको छ। तर बिमाको भुक्तानी पाउन नसकेको भनेर विरोध भएको छ। भुक्तानी दिन किन ढिलाइ भएको हो ?
कोरोना बिमा हामीले नेपालमा नयाँ प्रयोगका रूपमा ल्याइएका थियौं। जुन बेला यो योजना ल्याइएको थियो, त्यसबखत नेपाल सरकारले नै स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पतालहरूमा पीसीआर परीक्षण गर्ने परिपाटी थियो। सरकारले नै उपचार गर्ने व्यवस्था गरेको थियो। बिरामीलाई यसबाट समस्या नभए पनि टाढाटाढाका दुर्गम बस्तीबाट उपचारका लागि आउनेहरूले समस्या भोग्नुपर्ने देखियो। बिरामीका आफन्त आउनुपर्‍यो, बस्नुपर्‍यो र हेरचाह गर्नुपर्‍यो। त्यसका लागि खर्च लाग्छ र त्यो खर्च जुटाउन समस्या नहोस् भनेर लघु बिमाको हिसाबमा हामीले ५० हजार र एक लाखको बिमा योजना ल्याएका थियौं। हामीले एक हजार रुपैयाँ प्रिमियम राखेका थियौं। त्यसमा पारिवारिक बिमालाई प्रोत्साहन गर्न भनेर ४० प्रतिशत छुट पनि दिइयो।

तर दुर्गमका मानिसलाई लक्षित गरेर ल्याइएको यो योजना कर्पोरेट क्षेत्रमा बढी चर्चित भयो। संगठित संस्थाले आफ्ना कर्मचारीको बिमा गराउन थालेपछि हामीले पुनर्बिमासमेत नभएको यस्तो योजनालाई धेरै अघि बढाउन नसक्ने देख्यौं र एकपटक स्थगन पनि गर्‍यौं। तर सरकारले यसलाई राष्ट्रिय कार्यक्रममै समेटेर लाने भनेपछि मापदण्ड बनाएर व्यवस्थित गर्ने काम भयो।

प्रकाशित मिति: : 2020-12-13 11:25:00

प्रतिकृया दिनुहोस्