कहाँ अड्कियो विद्यासुन्दरको मोनोरेल ?

लोकान्तर

काठमाडौँ

परिवर्तन देवकोटा

काठमाडौं उपत्यकामा मोनोरेल चलाउने महत्त्वाकांक्षी योजना अलपत्र परेको छ ।

मोनोरेल सञ्चालन गर्ने घोषणा भएको ३ वर्ष बितिसक्दा पनि यसका लागि आवश्यक प्राथमिक काम समेत हुन नसक्दा योजना अलपत्र परेको हो । 

२०७४ साल मंसिरमा सम्पन्न स्थानीय तहको निर्वाचनका समयमा मोनोरेलको विषयले चर्चा पाएको थियो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मोनोरेल ल्याउने योजना आफ्नो चुनावी नारामै समावेश गरेका थिए । 

तर मोनोरेल सञ्चालन गर्ने घोषणा भएको ३ वर्ष बितिसक्दा पनि यसका लागि आवश्यक प्राथमिक कामसमेत हुन सकेको छैन । 

काठमाडौं र ललितपुर महानगरपालिकाभित्र पर्ने २७ किलोमिटर लामो चक्रपथमा मोनोरेल सञ्चालन गर्नका लागि सम्भावना अध्ययन चिनियाँ कम्पनी चाइना रेल वे २५ औं ब्यूरो ग्रुप कम्पनी लिमिटेड (सीसीआरसी)ले २०७५ जेठमै सकाएको थियो । 

सम्भाव्यता अध्ययन सकिएपश्चात काठमाडौं र ललितपुर महानगरपालिकाले संयुक्त रूपमा २०७५ पुस ४ गते विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न औपचारिक कार्यक्रम नै गरी सोही कम्पनीसँग सम्झौता गरेको थियो । 

सम्झौता पत्रमा १ वर्षभित्रमा डीपीआर तयार पारिसक्ने र सो एक वर्षसमेत गरी कुल ५ वर्षभित्रमा काठमाडौं उपत्यकामा मोनोरेल चलाउने उल्लेख गरिएको थियो । यद्यपि एक वर्षमा सक्नुपर्ने डीपीआर सम्झौता भएको मितिले २ वर्ष ३ महिना बितिसक्दा पनि सम्पन्न भएको छैन ।

प्रकाशित मिति: : 2020-12-13 12:25:00

प्रतिकृया दिनुहोस्