ओली नेतृत्वको सरकार सम्पूर्ण मोर्चामा असफल: नेता सिंह

हन्दू राष्ट्र पार्टीको लाइन हाेइन

कांग्रेस नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकार सम्पूर्ण मोर्चामा असफल भएको बताएका छन्।

मंगलबार प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘ओली नेतृत्वको सरकार कोरोना व्यवस्थापन, विधिको शासन स्थापना, विदेश नीति तथा आर्थिक संवृद्धिलगायतका सम्पूर्ण मोर्चामा असफल भएको छ। यस सरकारले सत्तामा बसिरहने नैतिक अधिकार गुमाएको छ।’

उनले नेकपा नेतृत्वको सरकार भने संघीय गणतन्त्रको मर्म विपरीत चलेको  आरोप लगाए। 

‘संघीयता संस्थागत गर्नुपर्नेमा प्रधानमन्त्री स्वयंले प्रदेश सरकार संघको प्रशासनिक एकाइ भएको अभिव्यक्ति दिँदै हिड्छन्। यो संघीयताको उपहास हो,’ उनले भने।

मुलुकमा भ्रष्टाचार बढेको, जिउज्यानको सुरक्षा नभएको तथा व्यक्तिगत स्वतन्त्रतामाथि पनि आक्रमण भएकोले आफूहरु सडकमा आएको उनले बताए। 

‘सरकार भ्रष्टाचारमा रुम्लिएको, जनताभन्दा आफ्नो स्वार्थ पूर्तिमा लागेको छ।  जनताको आक्रोश पोख्ने ठाउँ संसद् बन्द भएपछि हामी सडकमा उत्रेका हौं। अब हामी सरकारको भ्रष्टाचारी र सर्वसत्तावादविरुद्व निरन्तर सडक तताउँछौं’ पूर्वमहामन्त्री सिंहले भनेका छन्।

यता उनले हन्दू राष्ट्र पार्टीको लाइन नभएको बताएका छन्। 

‘कुनै नेताले आफ्नो व्यक्तिगत धारणा दिँदैमा पार्टीको लाइन बन्न सक्दैन’ नेता सिंहले भने, ‘हामी आफैंले ल्याएको परिवर्तनविरुद्व जान सक्दैनौं।’

आफ्नो पार्टी संघीय गणतन्त्र, समावेशीता, धर्म निरपेक्षप्रति प्रतिबद्ध रहेको उनले बताए।

नेपाली कांग्रेसले सोमबार ७७ वटै जिल्लामा आयोजना गरेको विरोध र्‍यालीको मुख्य वक्ताका रूपमा नेता प्रकाशमान सिंह जनकपुर आएका हुन्।


 

प्रकाशित मिति: : 2020-12-15 14:00:00

प्रतिकृया दिनुहोस्