निजी वनप्रति आकर्षण बढ्दो

सांकेतिक तस्बिर

बाँकेमा निजी वनप्रति आकर्षण बढ्दै गएको छ। 

कम मेहनतमा अन्य खेतीभन्दा १०औँ गुणा बढी आम्दानी हुने भएपछि निजी वनप्रति आकर्षण बढ्दै गएको हो। खोला तथा नदी किनारमा रुख रोप्दै आएका किसानले पछिल्ला दिनमा उब्जनी कम हुने खेतबारीमा पनि रुख रोप्न थालेका छन्।

सरकारले पछिल्ला वर्षमा खेतबारीमा रुख लगाउने किसान र व्यवसायीलाई प्रोत्साहित गर्दै आएको छ। डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार बाँकेमा १२४ वटा निजी वन दर्ता भएका छन्। त्यसमा ७० दशमलव ९१ हेक्टर क्षेत्रफलमा रूख लगाउने कार्य भएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख वन अधिकृत राजु क्षेत्रीले बताए। 'यो दर्ता भएर लगाइएको निजी वनको तथ्याङ्क मात्र हो' उनले भने, 'दर्ता नगरी रूख लगाउनेको सङ्ख्या १०आँै गुणा बढी छ।' 

वन कार्यालयले पनि असार–साउनमा देशैभर विभिन्न जातका रुखका विरुवा निःशुल्क वितरण गर्ने गरेको छ। डिभिजन वन कार्यालय बाँकेले वर्षेनी करिब चार लाख विरुवा उत्पादन गरी रुख खेती गर्न इच्छुक किसानलाई दिँदै आएको छ। सरकारले २३ प्रजातिका रुख कटान गर्न र काठ दाउरा ओसारपसार गर्न वन कार्यालयबाट कटान आदेश र छुटपुर्जी लिनु नपर्ने कानूनी व्यवस्था गरेपछि रुख खेती फस्टाएको हो। तर अझै पनि काठ तथा दाउरा ओसारपसार गर्दा दुःख दिने क्रम नरोकिएको गुनासो किसानको छ। 

खाद्यान्न, तरकारी र फलफूल खेतीजस्तै पछिल्ला दिनमा रुख लगाउने किसान र व्यवसायी बढ्दै गएका छन्। रुख खेतीमा धान, गहुँ, तरकारी जस्ता बालीमा जस्तो बढी मेहनत गर्नु पर्दैन। रोग र किराले नोक्सान गर्ने सम्भावना कम हुन्छ। मुनाफा भने निक्कै बढी छ। त्यसका लागि रुख रोपेको ७ देखि १० वर्ष पर्खनुपर्छ। 

युवाको ठूलो सङ्ख्या विदेश पलायन भएकाले खेतीपाती गर्ने जनशक्ति नहुँदा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता छ। त्यसैले किसानले पनि खेतबारीमा रुख रोप्न लागेका हुन्। माग अनुसार काठ स्वदेशमा उपलब्ध नहुँदा नेपालका प्लाइउड कारखानाले ठूलो परिमाणमा कच्चा पदार्थ भारतबाट ल्याउँदै आएका छन्। त्यसैले पनि सङ्घीय र प्रदेश सरकारले रुख खेतीलाई व्यवसायिक रुपमा अगाडि बढाउन प्रोत्साहित गर्ने नीति र कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

व्यावसायिक रुपमा रुख खेती फस्टाउँदै गए खेती गर्ने किसानसँगै नेपाली उद्यमी व्यवसायी लाभान्वित हुने र वैदेशिक घाटा कम गर्न समेत सहयोग पुग्नेछ। 

यसैगरी बर्दियामा समेत निजी वनतर्फ युवाको आकर्षण बढ्दै गएको छ। बर्दियामा १४६ वटा निजी वन दर्ता भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले बताए। उनका अनुसार बर्दियामा १४२.९ हेक्टर क्षेत्रफलमा निजी वन दर्ता भएका छन्। १४ लाख २९ हजार २५९ वर्गमिटरमा निजी वन लगाएको उनले बताए। रासस 

प्रकाशित मिति: : 2020-12-16 20:03:00

प्रतिकृया दिनुहोस्