हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाले देशभर आन्दोलन गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

राप्रपाले सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको लागि संघर्षका कार्यक्रमहरु तय गरेको छ।

पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो।

पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय राप्रपाले गरेको छ। पुस १२ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा ठूला सहरहरुमा मोटरसाइकल र्‍याली गर्ने र पुस १५ गतेदेखि २५ भित्र जिल्ला सदरमुकामहरुमा जनप्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको छ।

राप्रपाका अनुसार पुस चौथो हप्तादेखि भने दोस्रो चरणका कार्यक्रम सन्चालन हुने छ। तर दोस्रो चरणको कार्यक्रमको स्वरुप भने राप्रपाले सार्वजनिक गरेको छैन।

यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ६ र ७ गते गर्ने निर्णय पनि राप्रपाले गरेको छ। 

भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएकाेले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको राप्रपाले जनाएको छ। 

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टीको बैठकले मुलुकको समसामयीक राजनीतिक विषयहरुमासमेत छलफल भएको थियो। बैठकमा अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको थियो।

बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधनसहित पारित गरेको छ।

त्यसैगरी पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ६ र ७ गते काठमाडौँमा बस्ने निर्णयसमेत बैठकले गरेको छ।

 

 

प्रकाशित मिति: : 2020-12-17 11:24:00

प्रतिकृया दिनुहोस्