मोदेर्नाको खोपलाई पनि अमेरिकाले दियाे स्वीकृति

फाइजरको कोरोना खोप लगाउनेलाई एलर्जीको समस्या

बिएल संवाददाता

न्यूयाेर्क
Photo: (AP: Bill Feig/The Advocate)
Photo: (AP: Bill Feig/The Advocate)

अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो खोप पनि आपत्तकालीन रुपमा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको छ। 

अमेरिकाको नियामिक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए)ले मोदेर्नाले विकास गरेको खोपलाई बिहीबार राति स्वीकृति प्रदान गर्ने निर्णय गरेको हाे।

यसअघि एफडिएको सल्लाहकार बोर्डका विज्ञहरुले प्रभावकारिता झण्डै ९५ प्रतिशत देखिएको मोदेर्नाको खोप सुरक्षित तथा प्रभावकारी रहेको भन्दै सर्वसम्मत रुपमा स्वीकृति प्रदान गर्न सुझाव दिएका थिए। 

तर एफडिएले भने हतार नगर्ने निर्णय गरेकाे थियाे। 

यसअघि एफडिएले फाइजर–बायोएनटेकले विकास गरेको खोपलाई गएको हप्ता स्वीकृति प्रदान गरेको थियो। त्यसपछि अमेरिकाभर सो खोप जोखिममा रहेको समूहलाई पहिलो प्राथमिकतामा राखेर दिन थालिएको छ।

तर फाइजर र बायोएनटेकले निर्माण गरेको खोप लगाएका एक स्वास्थ्यकर्मीमा गम्भीर किसिमको एलर्जीको समस्या देखिएको छ। 

बुधबार अधिकारीहरुले दिएको जानकारीअनुसार मंगलबार खोप लिएको केही मिनेटपछि नै स्वास्थ्यकर्मीमा नकारात्मक असर देखिएको थियो।

यद्यपि उनको अवस्था अहिले स्थिर रहेको सार्वजनिक स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

यसअघि बेलायतमा पनि फाइजरको खोप लिएका मानिसहरुलाई एलर्जीको समस्या देखिएको थियो। 

बेलायतका मेडिकल नियामकले यसअघि नै एलर्जीको समस्या भएका मानिसहरुलाई यो खोप नलिन सुझाव दिइसकेको छ। 

एफडीएले भने एलर्जीको समस्या भएका मानिसहरुलाई पनि यो खोप सुरक्षित रहेको बताएको छ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा अहिलेसम्म एक करोड ७१ लाख ९८ हजार भन्दा धेरै व्यक्ति संक्रमित भइसकेका छन्।यस्तै तीन लाख १० हजार सात सय अमेरिकीको ज्यान गइसकेको छ।

प्रकाशित मिति: : 2020-12-18 11:51:00

प्रतिकृया दिनुहोस्