कांग्रेसले किसानमाथि अन्याय हुन दिँदैन: नेता पाैडेल

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी दल कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बक्यौता रकम उठाउनका लागि आन्दोलन गरिररहेका उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। 

शुक्रबार माइतीघर पुगेका उनले आन्दोलनरत किसानहरुलाई आफू र आफ्नो पार्टी आन्दोलनरत उखु किसानको साथमा रहेको बताएका थिए। 

नेता पौडेलले भने, ‘कांग्रेस किसानको पार्टी, मजदुरको साथी हो, हामी हरेक समस्याको समाधानका लागि तपाईंहरूसँग छौँ, मेरो पूर्ण ऐक्यबद्धता छ।’

उनले कुनै पनि हालतमा सरकारले किसानको बाँकी पैसा कसर छोड्न नहुने समेत बताए। 

‘समाजवादउन्मुख राज्यमा किसानको अवस्था यसप्रकारको हुनु दुःखद हो। हाम्रो पार्टी किसानमाथि अन्याय हुन नदिन माग गर्दछ। सरकारले किसानलाई ठगी गर्ने व्यापारीलाई शीघ्र कारबाहीको दायरामा ल्याउनुपर्छ,’ पौडेलले भनेका थिए।

शुक्रबारै बसेको कांग्रेसको संसदीय दलको कार्यसमिति बैठकले उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको थियो।

उखु किसानको आन्दोलनमा शुक्रबार उद्योग मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी पनि पुगेका थिए। 

दुवै मन्त्रीले पनि किसानका मर्का आफूहरुले बुझेको भन्दै बक्यौता रकम दिलाउने प्रतिबद्धता जनाए। चिनी मिलले उखुको मूल्य भुक्तानी नगरेपछि उखु किसानहरू पाँच दिनदेखि माइतीघरमा चिसो भुइँमा आन्दोलनरत छन्। 

यता मन्त्री भट्टले भने नेताहरुले नै मिल मालिकलाई जोगाउन दबाब दिने गरेको बताएका थिए।   

प्रकाशित मिति: : 2020-12-18 15:48:00

प्रतिकृया दिनुहोस्