किसान

मात्र एकपटक खोसिएको छैन निरन्तर खोसिएको छ
संसार खोसिएको उसको बाच्ने अवसर खोसिएको छ
 
उत्ता अदालतले निवेदन दिन पनि दस्तुर माग्यो   
श्रीमान म मजदुर हुँ र मेरो ज्याला खोसिएको छ  

मिल मालिककै कारण केसम्म खोसेको छैन आज
परिवार खोसिएको छ, मेरो सुन्दर घर खोसिएको छ 

साथी मलाई तिम्रो घाँटी र तातो शरीर चाहिएको छैन 
जाडोमा तिमीबाटै मेरो मख्लर र स्विटर खोसिएको छ

आज पनि एक गिलास पानीमै उस्ले मुद्दा टार्यो  
त्यो यस्तो पिडित हो जसको महासागर खोसिएको छ 

बलत्कारी र हत्याराहरु खुलेआम हिँडिरहे देशमा आज 
हजारौं नवराज र निर्मलाहरुको रहर खोसिएको छ 

एकपटक मात्र होइन निरन्तर खोसिएको छ
संसार खोसिएको उसको बाच्ने अवसर खोसिएको छ
**************
गजल न: २
**************

सुरुमा सङ्केत त्यस्तो उसैले फालेको हो
यसैले त्यो रात मैले कपडा फुकालेको हो 

अर्कैको भइन् सफलता उनी आफै पर गइन्
हाल्न त मैले धेरै ठाउँमा हात हालेको हो 

चोरी भएकै छैन भन्नू भो,  कुकुर महोदय!
हाम्ले हैन के तलाई त्यहि चोरले पालेको हो?

मालिक उखुमा किसानको आँसु मिसिएको छ
यसैले आजकल चिया नुनिलो हुन थालेको हो 

ती दुबै जना, मान्छेमाथी गएको हेर्न चाहदैनन्  
यसैले साथी र दुश्मनले हामीलाई उचालेको हो
**************
गजल न:३
**************
के छ कसो छ कुनै हाल खबर चाहिदैन 
त्यो कुन मान्छे हो जसलाई घर चाहिदैन  

बस!  यत्ति एउटा चोट नै काफी छ  
जिन्दगी के हो जान्नलाइ टिचर चाहिदैन 

उसो भा’के चाहिएको छ भनेर सोध्ने मन छ।  
जसले भन्छ मलाई अनुहार सुन्दर चाहिदैन 

उखु खुवाउने किसान चाहिन्छ हामीलाइ बरु 
यो देशमा अब गु–खाने भ्रस्ट लिडर चाहिदैन

शितलहरमा कापिरहेको अनाथले भन्यो आमा 
तिम्रो काख भए पुग्छ मलाई हिटर चाहिदैन 
**************
गजल न: ४
**************

हुँदै हुदैन यहाँ कदापि मुल्याङ्गकन हुदैन
जबसम्म तिम्रो प्रशस्त श्रोतसाधन हुदैन 

त्यो बेला अर्कै थियो त्यसैले रामले जित्यो
यो कलियुग हो अहिले सत्यको समर्थन हुदैन 

यो संसारमा स्वयम् र समय नबद्लिएसम्म 
यो मुलुक जीवन र युगमा कुनै परिवर्तन हुदैन 

सपना देख्न थाले मैले कस्तो गजल लेख्न लागे 
देख्यो भेट्यो बिग्रियो लेख्यो भेट्यो झन् हुदैन 

यस्तै हो, उ हजार युवतीसङ्ग बरालिरहन्छ
जीवनमा जबसम्म एउटीको आगमन हुदैन 

सक्रमित र पिडितलाई न्याय नै मिल्ने छैन 
जबसम्म शोषक र भाइरसहरुको पतन हुदैन 

वामगठबन्धन बन्छ कानुन बन्छ त्यो कुन देश हो 
जहाँ कार्यान्वयन हुदैन आममान्छेको शासन हुदैन 

नेता र प्रेमिका कहिले पनि फर्किएर आएनन् सायद
सोच्यो कि मनमा माया छैन र अर्को निर्वाचन हुदैन 

सरकार किसानको अपमान भएरै यस्तो भएको हो
यो देशमा अब कहिले पनि उखु उत्पादन हुदैन 


✍️सुजन बुढाथोकी
रतुवामाइ(८,मोरङ्ग
 

प्रकाशित मिति: : 2020-12-19 17:19:00

प्रतिकृया दिनुहोस्