आगो बाल्न दाउरा वितरण

सांकेतिक तस्बिर

विगत १० दिनदेखि निरन्तररुपमा चलेको चिसो हावा र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि नेपाली सेनाले आज बिहानै महोत्तरीको सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा दाउरा उपलब्ध गराएर न्यानोको लागि आगो बालेको छ। 

जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले जलेश्वर नपाको वडा नं १, २ र ६ का विभिन्न चोक र टोल बस्तीमा सर्वसाधारणलाई न्यानो बाँड्ने उद्देश्यले आगो बालेको गणपति शिवहरि केसीले बताए। 

नेपाली सेनाले जलेश्वरको नगरपालिका चोक, शङ्करचोक, दुर्गाचोक, खैराचोक, बुद्धिजीवि चोक, अस्पताल चोक, जिरोमाइल चोक, डोमटोल, दुषाध टोल, मुसहर टोललगायतका ठाउँमा आगो बालेर जलेश्वर नगरपालिकाका आम नागरिकलाई जाडोबाट जोगाउने काम गरेको छ।  जिल्लाभरि नै जाडोले जनजीवन प्रभावित भइरहेका बेला नेपाली सेनाले सदरमुकाममा दाउराको व्यवस्था गरी ठाउँठाउँमा आगो बालेपछि स्थानीयले राहत महसुस गरेका छन्। 

आगलागीमा रु १० लाख क्षति 

महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति भएको आगलागीमा १० लाख बराबरको क्षति भएको छ।    

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार जलेश्वर नगरपालिका– ३ बस्ने लगन राय र मटिहानी नगरपालिका– २ बस्ने जकी शेषको घरमा भएको आगलागीमा रु १० लाख बराबरको क्षति भएको हो।
    
राति १०ः३० बजेतिर लगन रायको घरमा विद्युत् चुहिएर भएको आगलागीमा परी नगद रु एक लाख, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, चार चौपाया र दुईकोठे घरसहित पाँच लाख ९५ हजारको क्षति भएको छ।
    
मध्यरातमा जकी शेषको घरमा भएको आगलगीमा परी नगद, दुई वटा चौपाय, कुखुरा र चल्ला, साँखुको काठ, खाद्यान्न लत्ताकपडा, भाँडाकँुडा र दुई कोठे घरसहित तीन लाख ७४ हजारको क्षति भएको हो। दुवै आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको प्रहरी तथा स्थानीय, प्रहरी र जलेश्वर नगरपालिकाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

न्यानो कपडा बाँड्दै स्थानीय तह

लहान– चिसो बढ्दै गएपछि सिरहाका स्थानीय तहले सक्रियता बढाएको छ। शीतलहर र चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले न्यानो लुगा तथा आगो बाल्न दाउरा वितरणको कार्यलाई तीव्रता दिएको छ। 

सिरहाको विष्णुपुर गाउँपालिकाले विभिन्न स्थानमा आगो बाल्न आज बिहानैदेखि दाउरा वितरण कार्य शुरु गरेको छ। 

चिसो र शीतलहरका कारण विपन्न तथा गरिब परिवार समस्यामा परेपछि सामूहिकरुपमा आगो बाल्न चोक तथा बस्तीमा दाउरा वितरण शुरु गरेको गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले जानकारी दिए। पहिलो चरणमा जाडो छल्न दाउरा वितरण गरेको र केही दिनपछि न्यानो कपडा वितरणसमेत गरिने उनले बताए। 

यस्तै सिराहा नगरपालिकाले वडा नं १७ खैरटोलका विपन्न तथा दलित परिवारलाई कम्बल र त्रिपाल वितरण गरेको छ। बस्तीमै पुगेर नगरपालिकाका प्रमुख अशेश्वर यादवले १५ परिवारलाई कम्बल र त्रिपाल वितरण गरे। 

चिसोबाट जोगिन तत्काललाई दुई थान कम्बल र एक थान त्रिपालका दरले दलित विपन्न परिवारलाई वितरण गरेको नगरप्रमुख यादवले बताए। यस्तै नगरपालिकाको विभिन्न वडामा आगो बाल्न दाउरासमेत वितरण गरिएको नगरपालिकाले जनाएको छ। 

चिसो प्रभावित भएका सिराहाको सुखीपुर नगरपालिका– ८ र गोलबजार नगरपालिका–१३ का १५० परिवारलाई स्वदेश लघुबित्त वित्तिय संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको थियो। सुखीपुर नगरपालिका– ८ अस्पताल चोकका १३० र गोलबजार नगरपालिका– १३ का २० परिवारलाई चिसोबाट जोगिन न्यानो लुगा वितरण गरेको जनाइएको छ। केही दिनयता बढेको अत्यधिक चिसोका कारण विगत एक साताको अवधिमा सिरहामा पाँच जनाको मृत्यु भइसकेको छ। रासस 

प्रकाशित मिति: : 2020-12-21 12:29:00

प्रतिकृया दिनुहोस्