ओली र दाहालले गर्दैछन् एकअर्कालाई कारबाही, नेकपा अब दुई चिरा !

देशसञ्चार

काठमाडाैं

काठमाडौँ-असंवैधानिक रुपमा संसद विघटन रोजेपछि सर्वत्र आलोचनाको घेराबन्दीमा परेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट पक्ष एकअर्कालाई कारवाही गर्ने भिडन्तमा उत्रिएका छन्।

तर यो भिडन्तमा दुवै पक्षका महत्वपूर्ण मानिएका एकएक जना केन्द्रीय सचिवालय सदस्यहरु रामबहादुर थापा ‘बादल’ र बामदेव गौतम तटस्थ बस्ने निश्चित भएको छ।

संसद भवनमा आयोजित प्रचण्ड–नेपाल पक्षका निवर्तमान सांसदहरुको भेलामा सहभागी नभएका गौतमले आफू संसद विघटनको विपक्षमा तर पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टी फुटको साक्षी नबन्ने घोषणा गरेका छन्।

वालुवाटारमा प्रधानमन्त्री ओलीद्वारा आयोजित भेलामा सहभागी हुने अपेक्षा गरिएका बादल आफ्नै सरकारी निवास पुल्चोकमा आफ्ना पक्षका नेताहरुबाट मन्त्री पद छाड्नुपर्ने चर्को दबाबमा परे पनि त्यसबारे निर्णय गर्न हतार गरेका छैनन्।

अनपेक्षितरुपमा आइतबार संसद विघटन गरेका ओलीले आफूविरुद्ध कानुनी र सडक संघर्ष घोषणा गरेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कारवाहीको संकेत दिएका छन्। तर प्रचण्ड-नेपाल समूहको सोमबार दिनभरि भएका कसरत हेर्ने हो भने ओली पनि संकटमुक्त छैनन्।

सडकमा बढ्दै गरेका नाराजुलस र सर्वोच्च अदालतमा परेका रिट ओलीतिरै सोझिएका छन्। साँझपख प्रचण्ड–नेपालसँगै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत सांसदको हस्ताक्षरसहित संसद विघटन रोक्न माग गर्दै संयुक्तरुपमा सर्वोच्च जाने निर्णय गर्नुले ओली कदम असंवैधानिक ठहर हुने आशा जिवितै छ।

तर असन्तुष्ट पक्षका नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसाल प्रश्‍न गर्छन्, ‘संसद विघटन मात्रै होइन पार्टी फुटाउने अनौपचारिक निर्णय गर्ने ओलीले कहाँकहाँ प्रभाव पार्नु भएको होला?’ राजनीतिक भागबण्डाबाट न्यायाधीश नियुक्त गर्ने अभ्यासलाई संस्थागत गरेको सर्वोच्चले ओली कदमविरुद्ध परेको रिटको के निष्पक्ष फैसला गर्ला त? भन्ने  प्रश्‍नमा भुसालको स्पष्ट संकेत थियो।

प्रकाशित मिति: : 2020-12-22 09:41:00

प्रतिकृया दिनुहोस्